स्याङ्जामा गएरातिदेखि निषेधाज्ञा थप, भदौ १८ सम्म कायम

-



     सफल आवाज    
     भाद्र १२ गते २०७७ मा प्रकाशित


स्याङ्जा,भदौ १२। स्याङ्जामा अघिल्लो महिना संक्रमित दर उच्च थियो । अहिले घटेको छ । तैपनि छिमेकी जिल्लाहरुमा कोरोना संक्रमित लगातार देखिन थालेपछि स्याङ्जामा निषेधाज्ञा अवधि थपिएको छ । निषेज्ञाधा पहिलेको तुलनामा अहिले केही खुकुलो पारिएको छ ।

स्याङ्जाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले गएराति १२ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठक अनुसार एम्बुलेन्स र शव बाहन बाहेक अन्य अत्यावश्यक सवारी साधनहरु खाद्य सामग्री, औषधि, दानापानी, दूध, इन्धन बोक्ने सवारीसाधन, कूतनीतिक नियोगका सवारी साधन, प्रेसपास भएका सवारीसाधन बिहान ६ देखि राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ ।

कर्मचारी परिचयपत्र आधारमा कर्मचारीका सवारीसाधन बिहान ९ देखि १० बजे र बेलुका ५ देखि ६ बजेसम्म सञ्चालन हुन सक्नेछन् ।
सार्वजनिक यातायात र निजी सवारीसाधन जिल्लाभित्र र अन्तरजिल्लामा सञ्चालन गर्न पाइने छैन ।

अत्यावश्यक उपभोग्य खाद्यान्न पसल, तरकारी फलफूल, डेरी र माछा मासु पसलहरु बिहान ६ देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गरी खोल्न पाइनेछ।
निर्माण सामग्रीका पसल तथा बैंकहरुलाई स्वास्थ्यसम्बन्धी आवश्यक मापदण्ड पूरा गरेरमात्रै सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।

निषेधाज्ञा लगाइएको कामकारबाही भएको पाइए संक्रामक रोग ऐन, २०२० बमोजिम कडा कारबाही हुने चेतावनी दिइएको छ ।