रेल्वे विभागको ठेक्कामा मिलेमतो छैन:महासङ्घ

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ भदौ । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काको विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको मिलेमतो नभएको बताएको छ ।

ठेक्कामा महासङ्घको कुनै संलग्नता छैन, महासचिव रोशन दाहालले भन्नुभयो :“महासङ्घलाई बदनाम गर्ने मनसायले अभिप्रेरित रहेर प्रचारप्रसार भइरहेकाले सचेत हुन जरुरी छ ।”

दाहालले सार्वजनिक खरिद ऐन, नियम, मुलुकको प्रचलित कानुन बमोजिम बोलपत्रको योग्यता निर्धारण गर्ने काम राज्यको भएको र यसमा निर्माण व्यवसायीको कुनै भूमिका र संलग्नता नरहेको जनाए ।

सार्वजनिक खरिद ऐन, नियम र प्रचलित ऐन कानून बमोजिम कुनैपनि परियोजनाकोलागि निर्माण व्यवसायीको कामको योग्यता तोक्ने अधिकार सम्वन्धित सार्वजनिक निकायमा हुने भएकोले महासङ्घलाई बोलपत्र प्रकरणमा मुछ्नुकाे कुनै औचित्य प्रमाणित हुन नसक्ने महासचिव दाहालको दावी छ ।

महासङ्घले मिलोमतोमा हुने खालका कुनैपनि प्रकारका बोलपत्रको विरोध गर्दै आइरहेको कुरा कसैबाट लुक्न नसकेको बताएको छ ।

सम्मानित उच्च अदालत पाटनमा रिट निवेदन परी विभागले तोकेको योग्यता कानून सम्मत ठहर गरी टेण्डर प्रक्रिया रोक्न नपर्ने आदेश भएको र यसबाट ठेक्का प्रक्रिया कानून सम्मत भएको पुष्टि भएको महासंघले विज्ञप्तिमा लेखेको छ ।