वीरगञ्जमा थप ३ जना संक्रमितको मृत्यु

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित


वीरगञ्ज, १३ भदौ । कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु दर बढ्दै गएको छ । वीरगञ्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो । तीमध्ये १ महिला छन् ।

वीरगञ्ज–१२ का वर्ष ४३ का पुरुषको गएराति ११ बजेर ५५ मिनेटमा मृत्यु भएकोमा अर्का वीरगञ्ज–२६, मनियारीका वर्ष ३७ का पुरुषको गएराति ११ बजेर ४१ मिनेटमा मृत्यु भएको हो ।

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार एचआईभी र हेपाटाइटिस बीले ग्रसित ४३ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार मात्रै उनलाई वीरगञ्ज कोभिड अस्पताल हेल्थ केयरमा सारिएको हो ।

अर्का ३७ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि तराई अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार कोभिड अस्पताल वीरगञ्ज हेलथ केयरमा भर्ना गरिएको गरिएको थियो । अवस्था गम्भीर बनेपछि थप उपचारार्थ काठमाडौं लैजाने क्रममा मुग्लिङमा पुग्दा मृत्यु भएको जनाइएको छ ।

त्यसअघि, वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको गएराति कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । वीरगञ्जमा थप ३ सहित कोरोना संक्रमणबाट मर्नेको कुल संख्या ४८ जना पुगेको छ।

धरानमा एकको मृत्यु
गएराति धरानमा ४८ वर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सिरहाको भदैया ६ घर भएका ती पुरुषको मृत्यु भएको हो ।

उपचारका लागि भदौ ६ मा धरान ल्याइएका उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । योसँगै प्रतिष्ठानमा भर्ना भएकामध्ये कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १८ पुगेको जनाइएको छ ।