पोखरामा ५८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

-



     सफल आवाज    
     भाद्र १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ भदौ । पोखरामा अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा–१४ निवासी ५८ वर्षीय पुरुषको शनिबार बिहान ११ बजे निधन भएको हो ।

गत भदौ ७ मा पेटकाे शल्यक्रिया गरिएका ती बिरामीको ८ गते नमुना परीक्षणको लागि पठाइएकोमा भदौ १० मा कोरोना पुष्टि भएको थियो ।

कोभिड–१९ संक्रमित पुष्टिपछि उनलाई सोही दिन पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा भर्ना गरिएकोमा शनिबार मृत्यु भएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

प्रतिष्ठानमा उपचाररत बिरामी मध्ये कोरोनाबाट मृत्यु हुने उनी सातौं हुन् । गण्डकीमा यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।