बैंकमा थुप्रियो २ खर्ब तरलता,बैंकर्स भन्छन्-कर्जा लगानी नै हुँदैन

-



     रेबिका आचार्य    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, १४ भदौं । बैंक तथा वित्तीय संस्थाहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । कोरोना भाइरस आउनु भन्दा अगाडिसम्म बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव झेलिरहेका थिए ।

तरलता अभावका कारण कर्जा लगानी नै गर्न पाइएन भन्ने बैंकहरुलाई यतिबेला भने अधिक तरलता थुप्रिए पछि पुर्पुरोमा हात लगाएर बस्नु पर्ने अवस्था सिर्जना भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुबाट लकडाउन यतामात्रै ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ । राष्ट्र बैंकले रिभर्स रिपो मार्फत तीन पटकमा ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको हो । तर अझै पनि तरलता २ खर्ब रुपैयाँ माथि रहेको छ ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बैंकहरुले कर्जा लगानी गर्न नसक्दा बैंकहरुमा अधिक तरलता देखिएको बताए । बैंकहरुले कर्जा लगानी गर्नु नै राम्रो हुने भन्दै उनले अब राष्ट्र बैंकले धेरै प्रशोचन गर्ने भन्दा पनि बैंकहरुलाई राम्रो क्षेत्रमा लगानीका लागि बाध्य बनाइने बताए ।

४ महिना लामो लकडाउनका कारण निकै कछुवाको गतिमा भएको कर्जा लगानीका कारण बैंकहरुमा तरलता अधिक देखिएको हो । लकडाउन खुले पछि बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको थियो । तर पुनः निषेधाज्ञा लागू भए पछि बैंकहरुमा तरलता थुप्रिएको हो । निषेधाज्ञा खुले पछि कर्जा लगानी हुने प्रवक्ता भट्ट बताउछन् ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहाल बैंकले चाहेर पनि कर्जा लगानी नभएको बताउदै आएका छन् । अहिले कोभिडका कारण लगानीको वातावरण नभएको र नयाँ विजनेशहरु पनि शुरु हुन नसकेका कारण कर्जा माग हुन नसकेको उनको तर्क छ ।

अर्को तर्फ अहिले मालपोत लगायतका कार्यालयहरु पनि बन्द रहेका छन् । यसले गर्दा पनि बैंकहरुको कर्जा लगानी हुन सकेको छैन । डेभलपमेन्ट बैंकर्स संघका सचिव प्रदिपकुमार श्रेष्ठ मालपोत बन्द भएका कारण धितो राखेर ऋण लिन चाहानेले नपाएको बताउछन् । उनका अनुसार स्वीकृत भइसकेको कर्जा पनि बैंकहरुले लगानी सकेका छैनन् ।