एकै दिनमा १४ जनाको कोरोनाबाट मृत्यु, १ हजार २सय २१ संक्रमित थपिए

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित


काठमाडौं, १४ भदौ । कोरोना संक्रमणबाट नेपालमा एकै दिनमा १४ जनाको मृत्यु भएको छ । तीमध्ये ४ महिला र १० पुरुष छन् । यो संख्या २४ घण्टा अवधिमा मृत्यु हुनेमा सबै भन्दा धेरै हाे ।

कोरोनाकै कारण योसहित हालसम्म नेपालमा २ सय २१ जनाको मृत्यु भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नियमित प्रेस ब्रिफिङमा जनाएको हो ।

गएको २४ घण्टामा मृत्यु हुनेमा सुनसरीकी ७४ वर्षीया, बाराकी ४७ वर्षीया, महोत्तरीकी ६२ वर्षीया र काठमाडौंकी ७२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
यस्तै, सुनसरीका वर्ष ६०, मोरङका वर्ष ६२, महोत्तरीका वर्ष ३५ र ७०, रौतहटका वर्ष ३०, ललितपुरका वर्ष २९, भक्तपुरका वर्ष ६५, नवलपुरका वर्ष ६२, रुपन्देहीका वर्ष ५७ र ६७ का पुरुषको मृत्यु भएको हो ।

यसैगरी, नेपालमा गएको २४ घण्टामा १ हजार २ सय २१ जना कोरोना संक्रमित फेला परेका छन् । तीमध्ये ३ सय ४८ महिला र ८ सय ७३ पुरुष छन् ।
काठमाडौं उपत्यकामा ४ सय २९ जना संक्रमित भएका छन् । यो संख्या अहिलेसम्मकै ठूलो संख्या हो । तीमध्ये काठमाडौं जिल्लामा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित फेला परेका छन् ।

मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा १२ हजार ७ सय १७ नमुना परीक्षण भएको छ ।
हाल क्वारेन्टिनमा ७ हजार ७ सय ९७ जना बसिरहेका छन् । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५ सय १८ रहेको छ । आइसीयूमा १ सय ४४ जना र भेन्टिलेटरमा रहेको संख्या १७ छ ।
यसैगरी, आइतबार २ सय ६७ जना निको भएका छन् । हालसम्म कुल २० हजार ८ सय २२ जना निको भएका छन् ।

५ सय बढी संक्रमित रहेको जिल्लाको संख्या समेत बढेको छ । हालसम्म ११ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
जसमा मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही, काठमाडौं, ललितपुर, चितवन र रुपन्देही रहेका छन् । शून्य संक्रमित रहेका जिल्लाहरु हुम्ला र मुस्ताङमात्र छन् ।