एटिएम प्रयोग गर्दा शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

-



     सफल आवाज    
     भाद्र १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ भदौ । अब कुनैपनि बैंकको एटिएम प्रयोग गर्दा शुल्क नलाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा गएर प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

देश यतिबेला कोरोनाको कहरमा परिरहेको बताउँदै केन्द्रीय बैंकले वित्तीय संस्थालाई अन्तर बैंक एटिएम कारोबार गर्दाको अवस्थामा शुल्क नलिन निर्देशन दिएको बताएको छ ।

यसअघि पनि बैंक तथा वित्तीय संस्थाले लकडाउनको समयमा सहमतिमा एटिएम सेवा, इन्टरनेट तथा मोबाइल बैंकिङ लगायतका विद्युतीय कारोबारलाई नि:शुल्क गरेका थिए ।

सरकारले गएको साउन ६ मा लकडाउन खुलाएसंगै बैंक तथा वित्तीय संस्थाहरुले फेरि शुल्क लिन शुरु गरेका थिए ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली बारे एकीकृत निर्देशन २०७६ र गएको साउन १५ सम्म जारी गरिएका सबै परिपत्र तथा निर्देशनलाई समावेश गरी परिमार्जनसहित उक्त निर्देशन दिएको हो ।

यो व्यवस्था अनुसार अर्को नयाँ निर्देशन नआउँदासम्म एटिएम शुल्क लिन नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकले बताएको छ । केन्द्रीय बैंकका अनुसार ग्राहकको सुविधाको लागि यस्तो निर्देशन दिईएको हो ।