काठमाडौं, १४ भदौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इन्डोनेशिया, फिनल्याण्ड र रसियासँग हवाई सम्झौताको तयारी गरेको छ ।
पर्यटन मन्त्रालयमा आईतवार भएको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले थप तीन मुलुकसँग हवाई सम्झौताको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
अहिलेसम्म सरकारले ४० वटा देशहरुसंग हवाई सेवा सम्झौता गरिसकेको अवस्थामा छ, पछिल्लो पटक हवाई सम्झौता गरिएको देश अष्ट्रेलिया रहेको छ ।
बैठकले भदौ १६ गतेदेखि नियमित उडान हुने भएकोले कोभिड–१९ को महामारीका समयमा पूर्वनियमित अवस्थामा लिईने गरेको हवाई भाडादर भन्दा बढी नलिनको लागि वायुसेवा कम्पनीहरुसँग समन्वय गर्ने निर्णय गरेको छ । साथै नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुसेवा कम्पनीलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गराउने लगायत विषयलाई अनुगमन र सहजीकरण गर्नको लागि पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ ।