अर्थमन्त्री खतिवडाको कार्यकाल सकिन ५ दिन बाँकी, को बन्ला अबको अर्थमन्त्री ?

-



     रेबिका आचार्य     
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिन ५ दिनमात्रै बाँकी छ । खतिवडा अहिले अर्थमन्त्री साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारीमा छन् ।

नेकपाले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा राष्ट्रपतिबाट मनोनित गराएको थियो । तर कार्यकाल गोलाप्रथाबाट छान्दा २ वर्षमात्रै परे पछि ६ महिना अघि नै खतिवडाको सांसद पद सकियो । ६ महिनासम्म सांसद नभएको व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्था अनुसार उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिना अघि दोस्रो पटक मन्त्री नियुक्त गरेका थिए ।

सांसद नभए पनि ६ महिनासम्ममात्रै मन्त्री हुन पाउने व्यवस्था अनुसार अर्थमन्त्री बनेका खतिवडा अब पुनः मन्त्री हुनका लागि सांसद हुनै पर्नेछ । यस्तो अवस्थामा को बन्ला अर्थमन्त्री भन्ने कौतुहलता आम जनमानसमा छ ।

खतिवडा नै दोहोरिने सम्भावना
अब अर्थमन्त्री बन्नका लागि वलिया दावेदारहरु विष्णु पौडेल र सुरेन्द्र पाण्डे हुन् । विष्णु पौडेल नेकपाका महासचिव छन् । पौडेल प्रधानमन्त्रीका नजिकका पात्र हुन् । यद्यपि उनलाई पार्टीको सांगठनिक काममा लगाउनु पर्ने भएका कारण उनलाई अर्थमन्त्री नियुक्त गर्न प्रधानमन्त्रीले अहिले नचाहेको प्रधानमन्त्री निकट श्रोत बताउछ ।

अर्कोतर्फ बालुवाटार जग्गा प्रकरणमा मुछिएका व्यक्ति भएका कारण पनि उनलाई अर्थमन्त्री नियुक्त गर्दा आलोचना हुने सम्भावना छ । अर्का दावेदार सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री नियुक्त गर्न माधव नेपाल पक्षधरले पहिले नै भनेका हुन् । तर पाण्डेसँग ओली सकारात्मक छैनन् ।

यसकारण राष्ट्रिय सभामा मनोनित गराएर खतिवडालाई नै पुनः अर्थमन्त्री नियुक्त गर्ने ओलीको चाहाना छ । प्रधानमन्त्री ओलीले ऋषि धमलासँगको अन्तरवार्तामा पनि केहि दिन अघि अर्थमन्त्री नै दाेहोरिने सम्भावना रहेको संकेत गरेका थिए । प्रधानमन्त्री ओलीले खतिवडाको कामबाट आफू सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्री परिवर्तन गर्न राजनीतिक कारण पनि हुन सक्ने भन्दै खतिवडाको विकल्प खोज्ने सानो ठाउँ रहेको पनि संकेत गरेका छन् । यसको अर्थ अब प्रचण्ड–माधव पक्षधरले अर्थमन्त्री हटाउनै पर्ने जोडबल गरेको अवस्थामा प्रधानमन्त्रीले हटाउन सक्नेछन् । अथवा बामदेव राष्ट्रिय सभामा जान चाहेको अवस्थामा उनलाई नै लानु पर्नेछ । अन्यथा खतिवडा नै पुनः अर्थमन्त्रीमा नियुक्त हुन सक्नेछन् ।