नेपालकै पहिलो होटल म्यानेजमेन्ट कलेज: एनटीएचएमसी

- बीएचएम गरेका विद्यार्थीलाई सहजै रोजगारीको अवसर

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



पाेखरा, १५ भदाै । आजभन्दा दुई दशकअघि पोखराका होटल तथा रेष्टुरेन्टमा धमाधम लगानी थपिँदै थियाे। त्यो बेला पोखरामा तारेहोटलहरु समेत थपिन थाले । होटल, रेष्टुरेन्ट त खुले तर दक्ष जनशक्ति पाउनै मुस्किल पर्न थाल्यो । नेपालमा कहीँ कतै यससम्बन्धी पठनपाठन हुँदैनथ्यो । होटल म्यानेजमेन्ट पढ्न विदेश जानुपर्ने बाध्यता थियो । भारत, स्वीट्जरल्याण्ड, चीन, अष्टेलियामा समेत महँगाे शुल्क तिरेर विद्यार्थीहरु जानेक्रम बढ्दो थियो ।

त्यो समय पोखराका केही शिक्षासेवी तथा उद्योगी व्यवसायीहरुको एउटा समूहले पोखरामै एउटा राम्रो होटल म्यानेजमेन्ट पढाउने कलेज खोल्ने योजना बनाए । कलेज स्थापनाको लागि सबै तयारी गर्न पोखराका अग्रज व्यवसायी अशोक पालिखेलाई जिम्मेवारी दिइयो । उनकै पहल र संयोजनमा प्रतिष्ठित उद्योगी, व्यवसायी र शिक्षासेवीहरुको संयुक्त लगानीमा नेपालमै पहिलो पटक सन् १९९९ मा पोखरामा नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको स्थापना भएको हाे ।

पोखरा विश्ववविद्यालयको सम्वन्धनमा स्थापना भएको यो कलेजले आजपर्यन्त सयौं विद्यार्थीहरुलाई यो कोर्स पढाइसकेको कलेज अध्यक्ष अशोक पालिखेले बताए । उनका अनुसार कलेजबाट होटल लगायत सेवा क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । यहाँबाट उत्तीर्ण विद्यार्थी कोही वेरोजगार बस्नुपरेको छैन । हालसम्म ४३ देशमा यहाँबाट उत्पादित विद्यार्थी गएको रेकर्ड कलेजसँग छ ।

पोखरा र काठमाडौंका कतिपय पाँचतारे र अन्य होटलमा समेत म्यानेजर, जीएमसम्म यही कलेजबाट पासआउट भएका विद्यार्थीहरु छन् । होटल लगायत अन्य सेवा क्षेत्रमा पनि विद्यार्थी संलग्न रहेको पाइएको छ । पहिले विद्यार्थी भर्ना होलान् कि नहोलान् भन्ने पिरलो हुन्थ्यो । तर अहिले वर्षेनी ठूलो संख्यामा भर्नाका लागि आउने विद्यार्थी कटौती गरी सीमित संख्यामा मात्र लिनुपर्ने अवस्था छ । होटल मेनेजमेन्ट यस्तो पढाइ हो, जुन पढेपछि वेरोजगार बस्नु पर्दैन । होटल तथा विभिन्न सेवामूलक क्षेत्रमा यहाँका विद्यार्थीको वर्षेनी माग बढिरहेको छ ।

स्थापना :
नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) सन् १९९९ मा स्थापना भएको हो । पोखरा–१४, छिनेडाँडास्थित सुन्दर र मनोरम वातावरणमा यो कलेज अवस्थित छ । सुरुवातदेखि नै यहीँबाट संचालित कलेजको पोखरा–४, गैह्रापाटनमा सिटी कलेज पनि संचालन भइरहेको छ । प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) प्रोग्रामका कक्षा मुख्य कलेज छिनेडाँडामै हुन्छ भने बीबीए र बीबीए–बीआईका कक्षा गैह्रापाटनमा हुँदै आएको छ । सुरुवातमा बीएचएमका कक्षा मात्र हुने गरेकोमा विद्यार्थीको माग र समयको आवश्यकताअनुरुप सन् २००३ देखि प्लस टु र २००४ देखि बीबीए र सन् २००९ देखि बीबीए–बीआई कक्षा थपिएको प्रिन्सिपल प्रकाश रेग्मी बताउँछन् ।

सुरुवातका दिनमा कलेज संचालनमा आए पनि कोर्स कस्तो पढाउने भन्ने दुविधा रह्यो । त्यसका लागि विदेशका विभिन्न दुई दर्जन बढी देशमा पढाइ हुने कोर्स अध्ययन गरी विज्ञहरुको सल्लाह अनुरुप कोर्स तयार पारिएको थियो । त्यसबेला पढाउने दक्ष शिक्षक पनि अभाव थियो । बाहिरबाट केही शिक्षक मगाउनुपथ्र्यो । विस्तारै यहीँबाट उत्तीर्ण विद्यार्थीले पनि पढाउने अवसर पाए । अहिले भने दक्ष शिक्षकको अभाव छैन ।

कोर्स र भर्ना प्रक्रिया:
यस होटल म्यानेजमेन्ट कलेजमा प्लस टू होटल म्यानेजमेन्ट, ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम), ब्याचलर अफ बिजनेस एड्मिन्स्ट्रेसन (बीबीए) र बिजनेस एड्मिन्स्ट्रेसन इन बैंकिङ एण्ड इन्स्योरेन्स (बीबीए–बीआई) का पढाइ हुन्छन । कलेजले पोखरा विश्वविद्यालय र राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त गरेको छ । प्लस टूको कक्षा ११ र १२ मा अनिवार्य विषय, ऐच्छिक बाहेक एउटा कोर्स होटल म्यानेजमेन्टसँग सम्बन्धित हुन्छ । प्लस टूमा भर्ना हुन न्युनतम सी प्लस वा सो सरह तथा व्याचलर लेभलमा पनि सी प्लस वा सो सरह आवश्यक पर्छ । कलेजले प्रवेशिका परीक्षा अनिबार्य लिने गरेको छ ।

त्यस्तै, प्लस टू उत्तीर्णपछि बीएचएम वा बीबीए वा बीबीए–बीआई जुन पनि पढ्न पाइन्छ । बीएचएम चारवर्षे कोर्स हो । ८ सेमेस्टर हुन्छन् । यो कोर्समा बिजनेस र हस्पिटालिटी म्यानेजमेन्टसँग सम्बन्धित विषय केन्द्रित हुन्छ । जसमा फुड प्रोडक्सन, फूड एण्ड बेभेरेज सर्भिस, रुम डिभिजन एण्ड अप्रेसन विषय रहेका छन् । एक जना विद्यार्थीले १३८ क्रेडिट आवरसहित इन्टर्नसीप र प्रोजेक्ट वर्कमा भाग लिनुपर्छ । सैद्धान्तिक र व्यवहारिक दुवै कक्षा हुन्छन् ।
बीबीए र बीबीए–बीआई दुवै चारवर्षे कोर्स हुन् । जसमा ८ वटै सेमेस्टर हुन्छन् । एक जना विद्यार्थीले यो कोर्स पूरा गर्न १२० क्रेडिट आवरसहित प्रोजेक्ट वर्क र इन्र्टनसीप पूरा गर्नुपर्छ ।

प्लस टूमा भर्ना हुन डिस्टिङ्सन तथा ए प्लस ल्याएकाले सजिलै भर्ना पाउँछ भन्ने छैन । विद्यार्थीको समग्र ज्ञान कस्तो छ ? कुनै पनि कुराको विश्लेषण कसरी गर्छ ? नेचर कस्तो छ ? कस्तो सोच राख्छ ? लगायत व्यवहारिक र सैद्धान्तिक परीक्षा सहित अन्तर्वार्ता लिइन्छ । विद्यार्थी अलावा तिनका बाबुआमा एवं परिवारका सदस्यलाई पनि अन्तर्वार्तामा समावेश गराइन्छ । एसइईमा प्राप्त अंकमापन ३० प्रतिशतमात्र मान्य हुन्छ । वार्षिक १०० जना भर्ना लिइन्छ । तीमध्ये १० जनाले छात्रवृत्तिको अवसर पाउँछन् । बीएचएमा ९६ मध्ये १० जनालाई छात्रवृत्ति, बीबीए र बीबीए–बीआईमा प्रत्येक संकायमा ४८ जना भर्नामध्ये ५ जनालाई छात्रवृत्ति दिइन्छ । छात्रवृत्ति प्राप्त गर्नेले सैद्धान्तिकमा सत्प्रतिशत निःशुल्क पाए पनि व्यवहारिकतर्फ न्यूनतम् शुल्क बेहोर्नुपर्छ । यो कलेजसहित पोखरा विश्वविद्यालयमा मात्र बीबीए–बीई पढाइ हुन्छ ।

सुविधा:
कलेजले सिकाइमा नाफामूलकभन्दा सेवामूलक भावना आत्मसात गरेको छ । ‘शैक्षिक गुणस्तरीयता र व्यावसायिक प्रतिष्पर्धामा समर्पित यस कलेजले विद्यार्थीको लागि धेरै सुविधा प्रदान गरेको छ । विद्यार्थीलाई घरबाट कलेजसम्म पुर्‍याउन कलेजका आफ्नै ७ वटा बस छन् । पोखराको जुनसुकै ठाउँबाट पनि बस चढ्ने सुविधा छ । अन्यमा जस्तो बसभाडा कलेजले लिँदैन । त्यतिमात्र कहाँ हो र, कलेज उतारिसकेपछि विद्यार्थीलाई खानाको प्रबन्ध हुन्छ । खाना खाइसकेपछि विद्यार्थीहरु आ–आफ्नो कक्षामा पढाइमा केन्द्रित हुन्छन् । होटल म्यानेज्मेन्ट पढ्ने भएपछि विद्यार्थी आफैले पनि व्यवहारिक कोर्सअन्तर्गत खाजा खानाका परिकार पनि तयार पार्दछन् । अपरान्ह फर्किदा कलेज बस नै चढ्ने हो । यो सुविधा छिनेडाँडा र गैह्रापाटन दुवैमा छ । विशेषगरी छिनेडाँडामा पढाइ हुने प्लस टू र बीएचएम दिउँसो हुन्छ भने बीबीए र बीबीए–बीआईको कक्षा गैह्रापाटनस्थित सीटी कलेजमा बिहानी सत्रमा हुने गरेको छ ।

छिनेडाँडास्थित कलेजकाे सुविधासम्पन्न भवनमा लिफ्ट सुविधा छ । कलेज तथा विद्यालयमा लिफ्ट सुविधा रहेको पोखरामै यो पहिलो कलेज हो । कलेजमा ३ वटा बिल्डिङ छन् । होटल म्यानेजमेन्ट पढाउने नेपालका कुनै पनि कलेजभन्दा राम्राे सुविधासम्पन्न ल्याब यहाँ रहेको कलेजको दाबी छ । चारतारे, पाँँचतारे होटलमा प्रयोग हुने सामानहरु कलेजको विभिन्न ल्याबमा देख्न सकिन्छ । यहाँबाट उत्तीर्ण हुने विद्यार्थी जहाँसुकै जाँदा पनि नौलोपन नहोस् भनी सो सुविधा दिइएको हो । नेपालकै उत्कृष्ट प्रयोगात्मक ल्याबहरु, कम्प्युटर ल्याब, पुस्तकालय, सभाहल, बास्केटबल, भलिवल कोर्ट, सुविधासम्पन्न रेष्टुरेन्ट लगायत सुविधा छन् । पोखरा–१४ मा २६ रोपनी क्षेत्रफलमा यो कलेज फैलिएको छ । शिक्षक र कर्मचारी गरी ९५ जना कार्यरत् छन् ।

कलेजमा कोर्सका अतिरिक्त सन् २०१८ देखि चिनियाँ भाषा पनि पढ्न पाइन्छ । अतिरिक्त कक्षा भएपनि कुनै शुल्क तिर्नुपर्दैन । त्यसका लागि चीनबाटै २ भाषा शिक्षक झिकाइएको छ । कलेजमा वारिष्टा, ककटेल, मकटेल, स्मल होटल एण्ड लज टेनिङ कोर्स पनि निःशुल्क सिक्न पाइन्छ । यिनै कोर्स बाहिर गएर सिक्दा ठूलो रकम खर्चिनुपर्छ । विद्यार्थीको हितका लागि कलेजले सो सुविधा दिएको हो ।

यसका अतिरिक्त हाइजिन तथा सेनिटेसनका कक्षा पनि लिन पाइन्छ । प्रत्येक सेमेस्टरमा ३ देखि ४ जनासम्म गेस्ट लेक्चरर आउँछन् । विषयविज्ञहरुसँग विद्यार्थीले विभिन्न विषयमा साक्षात्कार गर्ने मौका पाउँछन् । प्रत्येक सेमेस्टरमा फिल्ड ट्रिप, टूर, फूड फेस्टिभल, स्पोर्टस् विक, नेपाल पर्यटन बोर्ड लगायत कार्यक्रममा यहीबाट विद्यार्थी जान्छन् । पोखरामा प्रत्येक वर्ष हुने रेवान पोखरा सडक महोत्सवमा कलेजका विद्यार्थीले स्टल राख्छन् । कलेजले प्रत्येक विद्यार्थीको बीमा समेत गरेको छ ।

विद्यार्थीलाई तालिम दिन समेत नेदरल्याण्डबाट सिनियर एक्पर्ट आउँछन् । नेदरल्याण्डको एक संस्था सगं नेपालमा आधिकारिक संस्थाको मान्यता दिने गरी कलेजसँग सम्झौतापत्रमा हस्ताक्षरसमेत हुँदैछ । कोरोना महामारी कारण सो कार्य पछि सरेको छ । समय मिलाएर छिट्टै गर्ने कलेजको तयारी छ । कलेजलाई इन्टरनेशनल एशोसिएसन अफ होटल स्कुल (ईहोफा) ले गत वर्ष मान्यताप्राप्त कलेजको रुपमा प्रमाणपत्र समेत दियो । यसखालको प्रमाणपत्र पाउने एनटीएचएमसी नेपालमै पहिलो हो । ईहोफाबारे भन्नुपर्दा विश्वका ५९ देशका होटल म्यानेजमेन्ट पढाउने कलेजका प्रिन्सिपल र निर्देशक सम्मिलित अन्तर्राष्ट्रियस्तरको संगठन हो ।


अवसर :
यहाँ पढिसकेपछि जागिर नपाउने भन्ने छैन । सबैलाई जागिरको सुनौलो ढोका खुल्छ । पोखराकै कुरा गर्ने हो भने यहाँ सानाठूला गरी झण्डै ९ सय होटल छन् । पोखराकै माग धान्न सकिएको छैन भन्छन् कलेजका प्रिन्सिपल रेग्मी । कतिपय होटलले विद्यार्थीलाई पठाइदिनू प¥यो भनी अनुरोध गर्छन् । यहाँ पढ्दा पढ्दै विभिन्न ११ मुलुकमा पेड इन्टर्नसीप (काम सिक्दै पैसा कमाउँदै) अवसर पनि मिल्छ । कलेजले हालसम्म चीन, कुवेत, कतार, मलेसिया, सिंगापुर, थाइल्याण्ड, माल्दिभ्स, बहराइन, हङकङ लगायतका देशमा विद्यार्थीलाई इन्टर्नसीपका लागि पठाउने गरेको छ । यहाँका विद्यार्थी होटल लगायत रिसोर्ट, रेष्टुरेन्ट, बैंक, मल्टिनेशनल कम्पनी, हस्पिटल, विमान कम्पनी, एयरपोर्ट, टुरिष्ट गाइड, ट्राभल एजेन्सी, बेकरी जताजतै जान सक्छन् । स्कोप ठूलो छ । यहाँको ज्ञानसीप नेपालमा मात्र नभई अन्तर्राष्ट्रिय बजारमा सजिलै बिक्न सक्छ । विश्वव्यापी अवसर छ । ताकि विश्वमै सजिलै बिक्न सक्छन् । बीबीए–बीआई कोर्स यहाँसहित यस क्षेमा पोखरा विश्वविद्यालयमा मात्र पढाइ हुन्छ । कोर्स पूरा गर्ने विद्यार्थीलाई बैंक, वित्तीय संस्था तथा सहकारीमा ठूलो अवसर छ ।

कलेजको रेकर्ड अनुसार हालसम्म ८ सय जना विद्यार्थी बीएचएम उत्तीर्ण भइसकेका छन् । साथै प्लस टूबाट ६ सय, बीबीएबाट साढे ४ र बीबीए–बीआईबाट उत्तीर्ण ४ सय जना दक्ष विद्यार्थी श्रम बजारमा निस्केका हुन् । अहिले पनि ८ सय जना विद्यार्थी विभिन्न लेभलमा पढिरहेका छन् । गुणस्तरीय शिक्षालाई सधैँ कायम गर्दै आएको कलेजले सीमित संख्यामात्र भर्ना लिन्छ । त्यसैले सबैभन्दा पहिले भर्ना सूचना निकाल्ने र भर्ना अवधि समाप्त गर्ने कलेज हो, यो । यतिसम्मकी प्रवेश परीक्षाको नतिजा निस्केको ४ घण्टामै भर्ना सकिइसक्छ । आज रिजल्ट आयो भोलि भर्ना गर्छु भनेमा भर्ना पाइँदैन ।

विद्यार्थीको पढाइ र सिकाइलाई सँगसँगै लैजान्छौं – प्रिन्सिपल, एनटीएचएमसी

विद्यार्थीलाई हामी जीवनोपयोगी शिक्षा सिकाउँछौं । पढाइ सकेपछि के त भन्ने मूल कुरा हो । भोलिका दिनमा विदेश जानुपर्यो, नेपालमै कुनै होटल रेष्टुरेन्ट खोल्नुपर्यो, जागिरै खानुपर्यो भने पनि विद्यार्थीलाई ‘सुनमात्र हैन, चम्किएको सुन’ जस्ताे बनाएर पठाउँछौं । यहाँ पढेका विद्यार्थीको माग अधिक छ । तैपनि नेपालमा अलिकति समन्वय अभाव देख्छु । पोखरा आफैमा पर्यटकीय क्षेत्र भए पनि पर्यटकीय क्षेत्रका संघसंस्थाले यहाँका विद्यार्थीलाई आ–आफ्नो कार्यक्रममा सहभागी गराउन समन्वय गर्दैनन् । त्यसले गर्दा बजारमा ग्याप बढिरहेको हुन्छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विद्यार्थी सिकाउँदै गर्दा यहाँका होटल लोकल लेवलले चलिरहेको हुन्छ । इन्टर्नसीपकै बखत अन्तर्राष्ट्रियस्तरको ज्ञानसीप सिकेर फर्किदा यहाँका होटलमा सो लेवलको म्यानेजमेन्ट पाउँदैनन् । इन्टर्नसीपकै बेला विदेशमा जागिरको सुनिश्चितता बोकेर आउँछन् ।

पछि कोर्स सकेर पुनः जाँदा पहिले पाउने ४०-५० हजारभन्दा चार गुणा बढी तलब सुविधा बुझ्छन् । सो सुविधा यहाँ नपाइने हुँदा सो ग्याप आगामी दिनमा हटाउनुपर्छ । दक्ष जनशक्ति यही उत्पादन भएकोले यहाँका होटलहरु पनि सो गुणस्तरमा अघि बढ्नुपर्ने देखिन्छ । हामीहरुको अहिलेको चुनौती विदेशी विद्यार्थी ल्याउन सकिएको छैन । शिक्षानीति फेर्नुपर्छ । होटल म्यानेजमेन्ट विषय अन्य जस्तो जनरल हैन । भविष्यमा नितान्त सेवामूलक व्यवसायमा जान सक्ने प्रकृतिका विद्यार्थी यहाँ जोडिन सक्छन् । हामीहरु प्रोजेक्ट वर्क गर्छौ । विषयविज्ञलाई यहाँ ल्याएर विद्यार्थीबीच साक्षात्कार गराउँछौं । ताकि विद्यार्थी स्वयं स्वरोजगार बनून् ।

होटल म्यानेजमेन्ट कोर्ष पढ्न विद्यार्थीलाई विदेश जानुपर्ने बाध्यता अन्त्य भएको छ अध्यक्ष, एनटीएचएमसी

पर्यटकीय सहर पोखरामा हामीहरुले आजभन्दा २ दशकअघि धेरै खटेर नेपालमै पहिलोपटक यो कलेज खोल्यौं । पोखरा क्षेत्रका विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिहरुको यस कलेजमा लगानी रहेको छ । सुरुवातमा नेपालको पूर्वी झापादेखि पश्चिम कर्णाली क्षेत्रका विद्यार्थीहरु पढ्नकै लागि आउन थाले । पढ्नका लागी विदेश पढ्न जानुपर्ने बाध्यताको पनि अन्त्य भयो । नाफाभन्दा सेवामूलक ध्येयका साथ खोलिएको हुँदा न्युन शुल्कमा विद्यार्थीले पढ्न पाएका छन । स्थापनापछि हामिले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । वर्षेनी विद्यार्थीको माग बढिरहेको छ । होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले विभिन्न क्षेत्रमा सजिलै रोजगारको अवसर पाउँछन् । आफै सफल उद्यमी बन्न सक्छन् । विद्यार्थीको आत्मबल बढाउन तथा व्यवहारिक सीप सिकाउन ठूलो लगानी गरेका छौं । पर्याप्त भौतिक सुविधा छ । गुणस्तरीय शिक्षाका लागि अन्य विभिन्न सुविधा दिएका छौं । आगामी दिनमा मास्टर्स लेवलको कोर्स पढाउने उद्देश्य छ । मास्टर्स अफ हस्पिटालिटी म्यानेजमेन्ट कोर्सका लागि भौतिक पूर्वाधारको काम कोरोना महामारीको बेला लडकाउनको समय पनि निरन्तर भयो । पोखरा पर्यटकीय हव भएकोले शिक्षा क्षेत्रबाट पनि यो सहरलाई शैक्षिक हव बनाउने कार्यमा एउटा इँट्टा थपेका छौं जस्तो अनुभूति हुन्छ ।

(कलेजका अध्यक्ष अशोक पालिखे र प्रिन्सिपल प्रकाश रेग्मीसँग गरिएको वार्तामा आधारित)