लिवर्टी इनर्जी कम्पनीको आइपीओ आज बाँडियाे

- न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर पाए

-



     सफल आवाज    
     भाद्र १५ गते २०७७ मा प्रकाशित



काठमाडौं १५ भदाै । लिवर्टी इनर्जी कम्पनीको साधारण सेयर (आइपीओ) आज बाँडफाँड भएको छ । लिवर्टीकाे आईपीओमा आवेदन दिने लगानीकर्तामध्ये न्यूनतम १० देखि अधिकतम ३० कित्तासम्म आवेदन दिएका सबैले सेयर पाएका छन् ।

लिवर्टीकाे बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ३० कित्तासम्मकाे आवेदन दिने सबैले माग अनुसारकाे कित्ता सेयर पाएका हुन ।

एनआइबीएल एस क्यापिटलले जानकारी दिए अनुसार ९४ हजार ९०४ आवेदकले १० कित्ता सेयर पाएका छन । ४५ हजार ४८ आवेदकले २० कित्ता र ४८ हजार २२१ जनाले ३० कित्ता सेयर पाएकाे बताइएकाे छ।गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले ४० कित्ता सेयर पाएका छन ।

लिवर्टीकाे आइपीओमा कुल १ लाख ८८ हजार ४९९ जनाकाे आवेदन परेकाे लिवर्टी इनर्जी कम्पनीका प्रबन्ध निर्देशक डा आत्माराम घिमिरेले सफल आवाजलाई बताए । कोरोना र निषेधाज्ञाकाे यो असहज समयमा पनि लगानीकर्ताले देखाउनुभएको बिश्वासप्रति कंपनीको तर्फबाट हार्दिक आभार प्रकट गर्दछौं , प्रबन्ध निर्देशक डा. घिमिरेले भने ।

कम्पनीले निर्माण गरिरहेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युत आयोजना लमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथा पेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिल निर्माण कार्य समेत सम्पन्न भएको र पावर हाउसमा जडान गरिने आवश्यक इलेक्ट्रो मेकानिकल उपकरणहरु जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करिब ९८% सम्पन्न भई निकट भविश्यमा नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीका प्रबन्ध निर्देशक डा‍‌ आत्माराम घिमिरेले सफल आवाजलाई बताए ।