हराएको चार महिनापछि पूर्वराजदूत रिचर्डको शव फेला

-



     सफल आवाज    
     भाद्र १६ गते २०७७ मा प्रकाशित



लण्डन, १६ भदौ । नेपालका लागि बेलायतका पूर्वराजदूत रिचर्ड मोरिसको शव सोमबार फेला परेको छ । आफ्नो घर बेन्ट्ली नजिकैको पार्कमा गत मे ६ तारिख बिहान १०:३० मा दौडिन निस्किएका मोरिस बेपत्ता भएपछि प्रहरीले उनको खोजी गरिरहेको थियो ।

ह्याम्पसायर प्रहरीले उनी नियमित कसरतका लागि जाने एलिस हल्ट जङ्गलमा मोरिसको शव फेला पारेको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिले जनाएको छ। मृतक मोरिसको पहिचान औपचारिकरूपमा भइनसकेको भए पनि प्रहरीले उनको परिवारलाई शव फेला परेको जानकारी गराइसकेको बताएका छन् ।

यसअघि इष्ट हेमसायर प्रहरी कार्यलयले तीनपटकसम्म सर्वसाधारणका लागि खोजीकार्यमा सहयोग गर्न अपिल जारी गरेको थियो । अन्तिमपटक जारी अपिलसँगै रिचार्ड मोरिसको नयाँ तस्वीर सार्वजनिक गरेको छ । जुन तस्वीर नेपालमा खिचिएको थियो ।

रिचर्ड मोरिसले सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूतका रूपमा काम गरेका थिए । परराष्ट्र कार्यालयले पछिल्लोपटक निकालेको विज्ञाप्तिमा मोरिस निकै महत्वपूर्ण व्यक्तित्व रहेको र फराकिलो सम्बन्ध राख्न सक्ने व्यक्तिका रूपमा परिचित रहेको बताएको थियो । उनका तीन सन्तान र एक श्रीमती छन् ।