
काठमाडौं, १६ भदौ । लकडाउनबाट प्रभावित भएको अन्तर्राष्ट्रिय हवाईसेवा आजबाट शुरु भएको छ । आज विहान ८ बजे नेपाल एयरलाइन्स दोहाबाट आएको छ । एउटा जहाज कुवेतका लागि उडिसकेको छ ।
सरकारले देशभित्रका उडान भदौ अन्तिमसम्म रोकेकोमा अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरुसँगै चार्टर उद्धार उडानलाई पनि निरन्तरता दिदैंछ ।
गएको चैत्रदेखि ८ वटा देशमाथि लगाएको उडान प्रतिबन्धलाई खुलाउँदै सरकारले नियमित रुपमा व्यावसायिक उडान तालिका बनाएको हो । नयाँ व्यवस्था अनुसार आजदेखि असोज १४ सम्म ६० वटा नियमित उडान तथा २७ वटा चार्टर उद्धार उडान हुने भएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार नियमित व्यावसायिक उडानका लागि पाँच वटा एयरलाइन्सको उडान तालिका तय गरिएको छ । नेपाल वायुसेवा निगमको काठमाडौं देखि दोहा र कुवेतका लागि, हिमालय एयरलाइन्सका दोहा र चीनका लागि उडान हुँदैछन् । एयर अरेबियाको विमान सार्जादेखि काठमाडौं आउनेछ भने यहाँबाट यात्रु लिएर फर्किने तयारी गरेको छ ।
पर्यटन मन्त्रालयले आगामी एक महिनासम्म तय गरेको नयाँ उडान तालिकामा मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतार लगायतका देशबाट अन्तर्राष्ट्रिय नियमित व्यावसायिक उडान पुनः शुरु गरिएको बताएको छ ।
उडान तालिका हेर्नुहोस्
