ताप्लेजुङमा चट्याङले महिलाको ज्यान गयो, पाँच घाइते, सतर्कता अपनाऔं-मौसम पूर्वानुमान महाशाखा

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



ताप्लेजुङ, १७ भदौ । मंगलवारबाट मौसममा आएको बदलीसंगै देशका विभिन्न भागमा भारी तथा आंशिक वर्षा भईरहेको छ । साथै चट्याङ परेको छ ।

ताप्लेजुङमा चट्याङ पर्दा एक महिलाको ज्यान गएको छ । पाँचजना घाइते भएका छन् । फुङलिङ नगरपालिका–१० फुरुम्बूकी दुर्गा भट्टराईको मंगलवार दिउँसो परेको चट्याङ लागेर ज्यान गएको हो । चट्याङबाट घाइते भएकी भट्टराईलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमानै ज्यान गएको प्रहरीले बताएको छ ।

चट्याङ लागेर सिरिजङ्घा गाउँपालिकाका दुई र पेदाङका तीनसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा उपचार गरिएको छ । अवस्था सामान्य रहेको छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घन्टाका लागि आज बिहान चेतावनी तथा परामर्श सूचना जारि गर्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले गण्डकी प्रदेश, प्रदेश ५ का केहि स्थान, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, वागमती प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

वुधवार देशभर सामान्यतया बदली रहने छ । धेरै स्थानमा मेघगर्जनसहित पानी पर्ने, हल्का, मध्यम खालको वर्षा हुने र चट्याङ पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।