
काठमाडौं, १७ भदौ । पछिल्ले समय नेपाली कृषकको ठूलो समस्याको रुपमा ‘मल’ देखिएको छ । धानमा लगाउनका लागि मल नपाउदा किसानहरु चिन्तित छन् । हरेक वर्ष यो सिजनमा देखिने किसानको समस्या समाधानका लागि सरकार गम्भीर बन्न सकेको छैन । सरकारले पूर्व तयारी नगर्दा किसानहरु हरेक वर्ष यो समस्या खेप्न बाध्य छन् ।
यसपालीका लागि भने जसोतसो समस्या समाधान हुने भएको छ । मल अभाव भए पछि सरकारले बंगलादेश सरकारसँग हारगुहार गरेको छ । नेपाल सरकारको आग्रहलाई स्वीकार गर्दै बंगलादेशले ५० हजार टन मल फिर्ता गर्ने शर्तमा उपलब्ध गराउने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोनमा कुराकानी भएको थियो । त्यस क्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरेका थिए ।
केके भयो कुराकानी ?
दुवै प्रधानमन्त्रीले ऊर्जा उत्पादनमा सहयोग, विद्युत् जडान सञ्जाल निर्माण तथा नेपालबाट बङ्गलादेशतर्फ विद्युत् प्रवाहसहित साझा चासोका विविध विषयमा विचार आदानप्रदान गर्नाका साथै दुई देशबीच सन्तुलित अवरोधरहित सन्तुलित व्यापार प्रवद्र्धन, नेपालका लागि सुव्यवस्थित पारवहन सुविधा, सुदृढ सम्पर्क सञ्जाल तथा पर्यटन प्रवद्र्धनबारे छलफल भएको उक्त मन्त्रालयले जनाएको छ ।
आफ्नो देशका सरकारबाट कोभिड–१९ महामारीविरुद्ध भएका प्रयास र अनुभव साटासाट गर्दै दुवै प्रधानमन्त्रीले कोभिडका कारण उत्पन्न सङ्कटको सामनाका निम्ति सहयोग बढाउन सहमति जनाए । महामारी रोकथामका लागि बङ्गलादेशले चालेका कदमको सराहना गर्दै प्रधानमन्त्री ओलीले बङ्गलादेशमा रहेका नेपाली नागरिकलाई अहिलेको कठिनावस्थामा सहयोग गरेकामा बङ्गलादेश सरकारप्रति कृतज्ञता व्यक्त गरे ।
बङ्गलादेशका प्रधानमन्त्रीले कोरोना भाइरसको फैलावट रोकथामका निम्ति नेपाल सरकारबाट भएका प्रभावकारी प्रयासको प्रशंसा गर्नुभएको उक्त मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले पाँच हजार थान रिमेडेसिभिर सुई, अत्यावश्यक औषधि र चिकित्सा सामग्री नेपाललाई प्रदान गरेकामा प्रधानमन्त्री हसिनामा कृतज्ञता व्यक्त गरको थिए ।
विविध विषयमा कुरा भइसके पछि प्रधानमन्त्री ओलीले मल पैचो दिन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीको आग्रहमा बंगलादेशकी प्रधानमन्त्री हसिना सकारात्मक देखिएको प्रधानमन्त्रीको सचवालयले बताएको छ । उनले नेपाललाई मल दिन तयार रहेको बताइन् । इद्यपि, यो मल कहिले आउला र किसानले राहत महशुस गर्लान भन्ने हेर्न बाँकी नै छ ।