पोखरामा थप २० प्रहरीमा कोरोना कसरी सर्यो ?

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित


पोखरा, १७ भदौ । दुईसाता अघिसम्म छिमेकी वडाहरुमा लगातार कोरोना संक्रमितका बिरामी देखिन थाले पनि पोखरा ७ मा संक्रमित थिएनन् । तर गएको भदौ ३ मा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा–७ मा एकैपटक १६ जनामा कोरोना पुष्टि भएको भन्दै विज्ञप्ति सार्वजनिक गर्यो ।

एकैछिनमा मानिसहरुमा खैलाबेला भयो । विशेषगरी कोरोनाविरुद्ध सचेतना अपनाउँदै आएको वडा ७ मा यसरी एकाएक १६ जनामा कोरोना देखिनु अस्वभाविक थियो । बुझ्दै जाँदा थाहा लाग्यो, उनीहरु त गण्डकी प्रदेश सशस्त्र प्रहरी गण मुख्यालयमा कार्यरत प्रहरी रहेछन् । त्यो पनि वडा ७ नभै वडा १७ रहेछ । स्वास्थ्य निर्देशनालयले विज्ञप्तिमै त्रुटि लेखेको थाहा पाएपछि वडावासी केही शान्त भए ।

तैपनि एकैपटक प्रहरीमा यति ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि हुनु स्वभाविक त थिएन । संक्रमणको उच्च जोखिममा रहेको छिमेकी जिल्ला स्याङ्जाबाट उनीहरु फर्केका थिए । संक्रमित उनीहरुलाई आइसोलेसनमा राखियो । एउटै गणमा खानेबस्ने हुँदा गणका अन्य प्रहरीमा पनि कोरोना संक्रमणको सम्भावना हुन सक्ने भएकोले प्रदेश स्वास्थ्यले कन्ट्याक्ट टे«सिङ थाल्यो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप गत आइतबार मात्र गणका प्रहरीसहित पर्यटक प्रहरीको गरी ९५ जनाको स्वाब संकलन गरियो । क्षयरोग उपचार केन्द्र पोखरामा नमूना परीक्षणमा बुधबार रिपोर्ट आयो । तीमध्ये फेरि थप २० जनामा कोरोना संक्रमण पुष्टि भयो ।

पोखरा १७ स्थित सो गणमा कार्यरतसहित १ जना पर्यटक प्रहरी गरी २० जनामा कोरोना पुष्टि भएको हो । उनीहरुको उमेर समूह वर्ष २१ देखि ३८ सम्म छ ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यका अनुसार पहिले स्याङ्जाबाट आएका प्रहरीमा कोरोना देखिएको अहिले कन्ट्याक्ट टे«सिङमा ९५ जनाको नमुना संकलनमा २० जनामा पुष्टि भएको हो । उनले भने, ‘अहिले निश्चत यो नै जिल्लाबाट भन्दा पनि विभिन्न जिल्लाबाट फरक–फरक समयमा आएका प्रहरीहरु छन् । उनिहरुलाई आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।’
गण्डकी प्रदेशमा बुधबार थपिएका ३६ संक्रमितमध्ये तनहुँको शुक्लागण्डकी १ की २६ वर्र्षीया महिला पोखराको अमरसिंहचोकस्थित पार्कल्याण्ड अस्पतालमा कार्यरत स्टाफ नर्स हुन ।
तनहुँको व्यास ६ घर भई हाल पोखरा अमरसिंहचोक निवासी २४ वर्षीय संक्रमित पुरुष डोजर व्यवसायी हुन ।

लमजुङ सुन्दरबजार २ का ५० वर्षीय पुरुष ओमानबाट फर्केका हुन भने सुन्दरबजार ९ का ४९ वर्र्षीया महिला किराना पसल चलाउँछिन । बाँकी सबै जना कन्ट्याक्ट टे«सिङको आधारमा कोरोना पहिचान भएको जानकारी स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले दिए ।

बुधबार पोखरामा २० प्रहरीसहित २४ जना, नवलपुरमा ७, लमजुङमा ४ र तनहुँमा १ जना संक्रमित थपिएका हुन । योसहित प्रदेशमा कुल संक्रमित संख्या २ हजार २ सय ४६ पुगेको छ । हालसम्म प्रदेशका १४ जनाले ज्यान गुमाउँदा १ हजार ७ सय १२ जना निको भएका छन् ।