काठमाडौं उपत्यकामा निषेधाज्ञा थपियाे, अघिल्लाे हप्ताकाे तुलनामा केही खुकुलो

-



     सफल आवाज    
     भाद्र १७ गते २०७७ मा प्रकाशित



काठमाडौं, १७ भदौ । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिएको छ । तर अघिल्लाे हप्ताकाे तुलनामा केही खुकुलो बनाइएको बताइएकाे छ ।

गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।

थप गरिएकाे निषेधाज्ञामा भने केही सेवा संचालनमा छुट दिइने भएको छ । अब निषेधाज्ञाकाे समयमा विहान ११ बजेसम्म खाद्य पसल, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा/मासु, पसलहरु खोल्न पाइने भएकाे छ । औषधी र पानीको पसल भने दिनभर खुल्नेछन ।

छोटो दूरीको ढुवानीमा प्रयोग हुने सवारी साधन भने दिउँसो २ देखि ९ बजेसम्म चल्न पाउनेछन् ।होम डेलिभरी र टेक अवे सेवा दिने व्यक्तिको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने र उनीहरुले भेटेका व्यक्तिहरुको सुचि राख्नुपर्नेछ ।अत्यावश्यक कामका लागि काठमाडौं प्रवेश गर्न पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने अनिवार्य गरिएको निषेधाज्ञा आदेशमा जनाइएकाे छ ।