
पोखरा १७ भदौ । सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुभारम्भको दिन पारेर पोखराको जनजागरण आमा समूहमा आवद्ध महिलाहरुले बृद्ध बृद्धाहरुका लागि खाद्यान्न सहयोग गरेका छन् ।
सम्पूर्ण पितृहरुको सम्झना गर्दै पोखराको विरौटामा रहेको उक्त आमा समूहका दुईजना सदस्यले बुधबार पोखरा १७ स्थित पोखरा बृद्धाश्रममा नुन, तेल, खाद्यान्न, फलफूल, जुस, मास्क लगायतका सामाग्रीहरु वितरण गरेको समूहका अध्यक्ष नन्दकुमारी गुरुङले जानकारी दिईन् । कोरोना महामारीको विषम परिस्थितिमा बृद्ध बृद्धाहरुका लागि सहयोग पुगोस् भन्ने उद्धेश्यका साथ समूहमा आवद्ध पवित्रा पोखरेल र अञ्जु क्षेत्रीले करिब २० हजार बराबरको सामाग्री प्रदान गरेका हुन् ।
बन्दाबन्दीकै समयमा उनीहरुले श्रृंगारका सामाग्रहीहरु, चुरा, पोते, तथा कुशन र गुडिया बनाएर विक्रिी गरेका थिए । र ती सामाग्रीहरु बेचेर आएको आम्दानीबाट बृद्धाश्रममा सहयोग गरेको समूहका सल्लाहकार देवि थापाले बताईन् ।
कोभिड १९ को विषम परिस्थितिमा आमा समूहले गरेको पुण्य कार्यबाट निकै सहयोग पुग्ने बृद्धाश्रम सञ्चालक समितिका सदस्य श्रीनाथ आचार्यले बताए । विषम परिस्थितिमा नेपाल सरकार, स्थानीय तहहरुबाट पनि खासै सहयोग हुन नसकेको उहाँको गुनासो थियो । बृद्धाश्रममा अहिले १ सय ४ वर्षीय बृद्ध सहित ५५ जना बृद्ध बृद्धाहरु आश्रित रहेका छन् ।
उक्त अवसरमा बृद्ध बृद्धाहरुले प्राप्त सहयोग प्रति आभार व्यक्त गर्दै विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसको अन्त्य भई पहिलेकै जस्तो जीवनयापन सहज होस् भन्ने कामना गरेका थिए ।