बेपत्ताको खोजी र पीडितलाई राहत दिन बागलुङ समाजको आग्रह

-



     सफल आवाज    
     भाद्र १८ गते २०७७ मा प्रकाशित



पोखरा, १८ भदौं । बागलुङ समाज पोखराले बागलुङको ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा बुधबार राति आएको भीषण बाढी, पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र पीडितलाई राहत दिन आग्रह गरेको छ ।

समाजका अध्यक्ष सुनील पाण्डे नेतृत्वको टोलीले बिहीबार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको हो । बुधबार राति आएको बाढी, पहिरोमा बेपत्ता भएका ११ जनाको शव भेटिएको छ । दुई दर्जनभन्दा बढी सम्पर्कविहीन छन् ।

समाजका अध्यक्ष पाण्डेले कोभिड १९ को कहरबीच थपिएको अर्को विपत्तिमा मल्हम लगाउन प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारले संयुक्त रुपमा काम गर्नुपर्ने बताए । उनले भने, ‘घटनामा विस्थापितलाई राहत, पुनस्र्थापना र बेपत्ताको खोजीका लागि राज्यले कुनै कसर बाँकी राख्नुहुन्न ।’

ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले घटनाबारे जानकारी लिइरहेको उल्लेख गर्दै उद्धार र राहत वितरणमा सरकार लागिसकेको बताए ।