मनोसामाजिक समस्या समाधान गर्न परामर्शको खाँचाेः प्रधानमन्त्री

-



     सफल आवाज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको कारण समाजमा देखिएको मनोसामाजिक समस्यालाई समाधान गर्न मनाेचिकित्सककाे परामर्श र याेगदानकाे खाँचाे भएकाे बताएका छन ।

मनोसामाजिक समस्या रहिरह्यो भने समस्या झन् वढेर जान्छ, त्यसैले अहिलेनै योजना बनाएर तदारुकतासाथ कामलाई अघि बढाउन उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्वद्ध अधिकारीहरु र सराेकारवाला निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजना गरिएको मनोचिकित्सकसँगको छलफल कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा व्याप्त नैराश्यता, डर, त्रास र भयलाई हटाउन अत्यन्त आवश्यक भएको बताए । यो सिधै भनेर हुने कुरा पनि होईन उनले भने, मनोसामाजिक समस्यालाई समाधान गर्नका लागि मनोचिकित्सकको विशेष परामर्श र योगदानको खाँचो छ ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्नका लागि व्यापक रुपमा परामर्श र सचेतनामूलक कार्यक्रम गर्न जोड दिए । उनले कोरोना विरुद्धको अभियानलाई रेडियो, टेलिभिजन लगायतका सञ्चार माध्यमबाट जनता समक्ष चेतना फैलाउन आवश्यक भएको बताए । अभियानमा मनोचिकित्सकको सक्रियता र योगदान महत्वपूर्ण रहेको हुन्छ, उनले भने ।

कार्यक्रममा प्रा.डा सुदर्शन नरसिंह प्रधान, डा.पशुपति महत, प्रा.डा सरोजप्रसाद ओझा, प्रा.डा दिव्यासिंह शाह, डा.रितेश थापा, डा.सगुन पन्त, डा. अनन्त अधिकारी, डा.फणीन्द्र बराल, डा.रोशन पोखरेल लगायतका विज्ञहरुले छोटो तथा लामो समयसम्मका लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपायहरुका बारेमा प्रधानमन्त्री ओलीलाई सहजिकरण गरेका थिए ।