एसिड छर्किने अपराधीलाई कारबाही गर्न नयाँ कानुन बनाइदैं : प्रधानमन्त्री

-



     सफल आवाज    
     भाद्र २५ गते २०७७ मा प्रकाशित



काठमाडौं, भदौ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब, एसिड छर्किने जस्ता जघन्य, अमानवीय अपराधका दोषिहरुलाई कारबाहीका लागि अध्यादेशमार्फत तत्काल कानुन बनाइने बताएका छन् ।

पिडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउन लागेको बताएका हुन ।

प्रधानमन्त्री ओलीले यसका लागि १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । उनले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने व्यवस्था हुने बताए । पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था पनि कानुनमा उल्लेख हुने उनले बताएका छन् ।

देशभरिका एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरू सहभागी भएको बिहिवारको विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर अस्पताल र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने, पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरे ।

आक्रमणपछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताए । उनिहरुको लागि उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको व्यवस्था सरकारले गर्ने समेत कार्यक्रममा जानकारी दिए । साथै उनले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताए ।

हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले सबैलाई आह्वान गरेका छन् ।

सभ्य समाज निर्माण गर्नका लागि सरकारले एसिड आक्रमणका कुनैपनि घटना नै हुन नदिने र आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिरहने दृढता व्यक्त गरे । प्रधाननमन्त्री ओलीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त पारेका थिए ।

स्मरण रहोस्, नेपालमा भएका १७ वटा एसिड आक्रमणका घटनामा परेका १९ जना एसिड पीडितहरू रहेका बताइएको छ ।