नेकपा स्थायी कमिटी बैठक सकियो, चैतमा महाधिवेशन गर्ने निर्णय

- एमसिसी परिमार्जनसहित पारित हुने

-



     सफल आवाज    
     भाद्र २६ गते २०७७ मा प्रकाशित



काठमाडौं, २६ भदौ । लामो समयदेखि अनिर्णयको बन्दी बन्दै आएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक चैत २५ देखि ३० गतेसम्म पार्टी महाधिवेशन गर्ने निर्णय गर्दै समापन भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको बैठकले साे निर्णय गरेकाे हाे । यस्तै, कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

बैठकको सुरुवातमा छोटो सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठकले नयाँ उचाइको एकता प्रदान गरेको र पार्टी फुटाउने प्रतिक्रियावादीको षड्यन्त्र परास्त भएको बताएका थिए । पछि उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई बैठक सञ्चालनको जिम्मा लगाएर बाहिरिएका थिए । गत मंसिरमा कार्यकारी अध्यक्षको जिम्मा पाएका दाहालले बैठकको अध्यक्षता गर्न नपाएको गुनासो गर्दै आएका थिए । साथै बैठकले अध्यक्षद्वयको कार्यविभाजनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

यसअघि पार्टीभित्र सहमति खोज्न पार्टी महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले महाधिवेशनसम्म दाहाललाई पार्टी सञ्चालनको जिम्मा दिन प्रस्ताव गरेको थियो ।
यसैगरी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । के संशोधन गर्ने भन्ने वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने जानकारी प्रवक्ता श्रेष्ठले दिए।

पार्टीको स्थायी कमिटी बैठक गत असार १० मा सुरु भएको हो । तैपनि पटक पटक स्थगित हुँदै आएको थियाे । पछिल्लो समय गत साउन ६ मा छोटो समयका लागि बैठक बसेको थियो ।

एमसिसी परिमार्जनसहित पारित हुने

बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन कम्प्याक्ट (एमसिसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको छ । सो सम्झौता नेकपाको विवादका कारण प्रतिनिधिसभामा गत वर्षदेखि विचाराधीन छ । परिमार्जनका विषयबारे पार्टीले आगामी दिनमा थप स्पष्ट गर्नेछ ।

नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको केन्द्रीय कमिटी बैठकले सोबारे अध्ययन गर्न वरिष्ठ नेता खनाल, स्थायी कमिटी सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेकामा त्यसले गत फागुन ९ गते नेकपा अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन दिइसकेको छ । कूल करीब रु ६४ अर्बको सो परियोजनामा सम्झौताबारे वरिष्ठ नेता खनालको संयोजकत्वमा कार्यदल गठन गरी प्रतिवेदन पेश भइसकेको छ ।

सो सम्झौतामा काठमाडौंँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ ।

सीमा समस्या समाधान र कोभिड नियन्त्रण

आजको बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि नेपाल सरकारले गरेका प्रयासलाई सकारात्मक ठहर गरी भारतले अतिक्रमण गरेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि कूटनीतिक वार्ताका माध्यमबाट आवश्यक पहल गर्न सुझाव दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । विश्वव्यापी महामारी बनेको कोभिड –१९ नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारका कामलाई अझै प्रभावकारी बनाउन राष्ट्रिय एकताका साथ अघि बढ्न सरकारलाई बैठकले सुझाव पनि दिएको बताइएकाे छ ।