सर्लाहीको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण

-



     सफल आवाज    
     भाद्र २८ गते २०७७ मा प्रकाशित



सर्लाही, २८ भदौ । जिल्लाको वाग्मती नगरपालिकामा नगर बगैँचा निर्माण हुने भएको छ । नगरपालिका–३, ४ र ११ मा गरेर १८० बिघा क्षेत्रमा नगरपालिकाले फलफूलका बिरुवा रोपेर नगर बगैँचा निर्माण शुरु गरेको छ ।

नगरले वार्षिक करोडाँैको फलफूल उत्पादन गर्ने गरी बगैँचा निर्माण गरिरहेको छ । यसरी कृषि, पशु, बजारलगायतको व्यवस्थापनमा समेत नगरले मुख्यरूपमा ध्यान दिइरहेको उपप्रमुख लीला मोक्तानले । नगरको विकासका लागि नगरको रकम कुनै पनि हालतमा नगरमै रोक्नुपर्ने भएकाले पनि यो योजना अपरिहार्य रहेको जनप्रतिनिधिको भनाइ छ । आजलाई भन्दा पनि भोलिको भविष्यलाई हेरेर नगरपालिकाले योजना तयार गर्ने गरेको नगरका योजना विभाग प्रमुख सुजन बडालले बताए।

बगैँचामा तराईको ठाउँमा हुने आँप, लिची, कटहरलगायतका फलफूलका बिरुवा लगाइएको छ । बगैँचाको रेखदेख तथा गोडमेलका लागि स्थानीयस्तरमा रोजगारी पनि सिर्जना भएपछि स्थानीयवासीसमेत हर्षित बनेका छन् ।

बगैँचा निर्माणले नगरको पर्यावरणसमेत सन्तुलित रहने नगरको जिकिर छ । एकातर्फ वातावरण संरक्षण र अर्कोतर्फ आम्दनीको राम्रो स्रोत नगर बगैँचा बन्ने नगरपालिकाले जनाएको छ । नगर बगैँचामा फलफूलका बिरुवाहरु रोप्ने काम भइरहेको र ती बिरुवाको व्यवस्थापनको काम भइरहेको नगरपालिकाले जनाएको छ ।