प्राधिकरणका निर्देशक घिसिङको ४ वर्षे कार्यकाल सकियो

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौ, २९ भदौ । आफ्नो कार्यकालमा नेपाललाई लोडसेडिङ मुक्त गराउन सफल भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आईतवार रातिबाट सकिएको छ ।

अब प्राधिकरण प्रमुखमा कुलमानलाई नै दोहोर्याइन्छ वा नयाँ अनुहार आउँछन् पर्खाइको विषय भएको छ । निर्देशक घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा हुँदाको समयमा प्राधिकरणको कार्यकारी निर्देशकमा २०७३ साल भदौ २९ गते नियुक्त गरिएको थियो ।

घिसिङले आफ्नो कार्यकालमा १६, १७ घन्टासम्म लोडसेडिङको मार खाँदै आएका नेपालीलाई विद्युत व्यवस्थापनमा कार्यकुशलता देखाई विद्युत वितरण प्रणालीलाई सहज बनाएका थिए । यसैको कारण घिसिङ लोकप्रिय भएका थिए ।

बेला बेलामा आईपर्ने प्राविधिक समस्या बाहेक अरु समयमा विद्युत आपूर्तिमा कमि हुन नदिएका घिसिङको ठाउँमा अरु कोहि आउने हुन वा पुनः उनलाई नै दोहोर्याईन्छ यो विषय गर्भमै छ ।

कार्यकाल सकिने बेला भएपछि सर्वसाधारण तथा सामाजिक क्षेत्रबाट उनलाई पुनः नियुक्त गर्न आवाज उठ्दै आएको थियो । यद्यपि प्राधिकरणको कार्यकारी निर्देशकमा अन्य केहि व्यक्ति पनि ईच्छुक रहेका श्रोतले बताएको छ ।

घिसिङ २०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका थिए ।
सोमबार मन्त्रीपरिषदको नियमित वैठक भएकोले यस विषयको टुंगो लाग्छ लाग्दैन पर्खिनुपर्ने भएको छ । घिसिङले आईतवार आफ्नो कार्यकालको अन्तिम हाजिर गरेका थिए ।