मुक्तिनाथ विकास बैंकद्वारा ई–टेलर सेवा शुरु

-



     सफल आवाज    
     असाेज १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ असोज । मुक्तिनाथ विकास बैंक लि.ले कोरोना भाइरस (कोभिड १९) को महामारीको विषम परिस्थितीमा ग्राहकहरुले सुरक्षित बैंकिङ्ग कारोबार गर्न मिल्ने गरी ई–टेलर सेवा सञ्चालनमा ल्याएको छ ।

ई–टेलर सेवाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले गरेका हुन । त्यस अवसरमा उनले अब ग्राहकले खाताकाे रकम निकाल्न चेकको प्रयोग गर्न नपर्ने बताए । आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग इन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सक्ने बताए । पोखरेलका अनुसार यो सेवा बैंकका सबै शाखाहरुमा उपलब्ध हुने भएको छ ।

नयाँ प्रविधिलाई आत्मसाथ गर्दै बैंकमा कार्यरत कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेर वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यले ई–टेलर सेवा सञ्चालनमा ल्याइएको बैंकले बताएको छ ।

कोरोनाको संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार प्रोत्साहन गर्नका लागि यो सेवा ल्याईएको हो । बैंकका ग्राहकले भिषा नेटवर्क अन्तर्गत जुनसुकै बैंकको एटिएम बाट रकम झिक्न सकिने व्यवस्था गरिएको छ । यसका लागि शुल्क नलाग्ने बैकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले जानकारी दिए ।