सहकारीको साधारण सभा अब अनलाइनबाटै गर्न सकिने

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । सहकारी संघ संस्थाहरुको साधारण सभा अनलाइनबाटै गर्न सकिने भएको छ । सहकारी विभागले नयाँ व्यवस्था गर्दै कोरोना महामारीको त्रास अझै बाँकी रहेको भन्दै अनलाइनबाट गरिएको साधारणसभालाई मान्यता दिने बताएको छ ।

साधारणसभा गर्दा सामाजिक सञ्जाल वा स्थानीय सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रशारण गर्न सकिने व्यवस्था विभागले गरेको छ । यद्यपि सहकारीले तोकिएको समयमै साधारणसभा गर्नुपर्ने भएको छ । सहकारी विभागले कानुनी व्यवस्थाको मर्म अनुरुप समयमै साधारण सभा गर्नुपर्ने भएकाले त्यसको तयारीमा लाग्न भनेको हो ।

कोभिड–१९ ले समस्या ल्याएपनि कानुनी मर्म विपरित जान नसकिने विभागको स्पष्टीकरण छ । सहकारी संस्थाले प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण आर्थिक वर्ष सकिएको तीन महिनाभित्र र साभारणसभा पुस मसान्तम्ममा गर्नुपर्ने कानुनी व्यवस्था छ । साधारणसभा बोलाउँदा गणपुरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको कम्तिमा ५१ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

तर, कोरोना माहामारीमा सरकारले भिडभाड नगर्न भनिरहेकै बेला विभागले साधारण सभाको तयारी समयमै गर्न सहकारी संस्थालाई भनेको छ ।