लिवर्टी ईनर्जीको शेयर नेपाल स्टक एक्सचेन्जमा सूचिकृत

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । लिवर्टी इनर्जी कम्पनी लिमिटेडकाे शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासी तथा सर्वसाधारणमा प्रारम्भिक निष्काशन मार्फत जारी गरी बाँडफाँड गरेको तथा संस्थापकहरुले लगानी गरेको समेत गरी रु. १०० अंकित दरका जम्मा १,५०,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत गरेको कम्पनीका प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरेले बताए ।

उक्त सुचिकरण सम्बन्धी समझदारी पत्रमा आज (शुक्रबार) लिवर्टी इनर्जी कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक डा. आत्माराम घिमिरे तथा नेप्सेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका थिए ।

कम्पनीले शेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि प्रभु क्यापिटल लिमिटेड, कमलादीलाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

कम्पनीद्धारा निर्माणाधीन लमजुङ जिल्लास्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना हाल निर्माणको अन्तिम चरणमा रहेको छ । कम्पनीद्धारा सर्वेक्षण अनुमति पत्र प्राप्त थप २ वटा जलविद्युत आयोजनाहरु समेत सर्वेक्षणको क्रममा रहेको बताईएको छ ।