नेपालमा एकै दिन संक्रमित हुने संख्या २ हजार नाघ्यो

-



     सफल आवाज    
     असाेज २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ असोज । नेपालमा एकै दिनमा २ हजार बढी संख्यामा कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशभर २ हजार २० जना कोरोना संक्रमित थप भएको जानकारी दिए । यो सहित देशभर संक्रमित हुनेको कुल संख्या ६० हजार ५ सय ९३ जना पुगेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार ३ सय ८३ जना पुगेका छन् ।

यस्तै, ८ सय ७१ जना शुक्रबार निको भइ घर फर्केका छन् । यो सहित कोरोना मुक्त हुनेको संख्या ४३ हजार ८ सय २० पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेको दर ७१ दशमलब १ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी, देशभर आइसीयूमा १ सय ७१ जना र भेन्टिलेटरमा ३६ जना छन् । होम आइसोलेसनमा ८ हजार ८८ जना र क्वारेन्टाइनमा ७ हजार ७ सय ३६ जना बसिरहेका छन् ।

५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु मोरङ, सिरहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, भक्तपुर, रुपन्देही र काठमाडौं छन् ।

नेपालमा अघिल्लो दिन बिहीबार १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिँदा १ हजार २ सय ४३ जना निको भएका थिए ।