सिभिल बैंकले पठायाे नेप्सेलाई स्पष्टीकरण

- सिभिल बैंक र हिमालयन बैंककाे मर्जरकाे बिषय हल्ला मात्रै

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ असाेज । हिमालयन बैंकसँग मर्जरमा जाने बिषयमा कुनै पनि निर्णय नगरेको भन्दै सिभिल बैंकले नेप्सेलाई स्पष्टिकरण पेस गरेको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै बजारमा हल्ला भएपछि आइतबार नेपाल स्टक एक्सचेञ्जले सिभिल बैंकसँग लिखित स्पष्टीकरण सोधेको थियो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सोमबार नेप्सेलाई लिखित जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय नभएको र बैकले यस्तो समाचार बाहिर नल्याएको बताएका छन् ।

मर्जर वा एक्विजिशनमा जाने भए तत्कालै नेपाल स्टक एक्सचेञ्जमा जानकारी गराउनु पर्ने कानूनी व्यवस्था छ । सूचीकरण विनियमावलीको विनियम २२ को (च) अनुसार शेयर मूल्यमा फरक पार्न सक्ने कुनै घटना वा कारोबार भएमा त्यस्तो विषयको सूचना तुरुन्त दिनु पर्नेमा त्यस विषयमा कुनै जानकारी नभएको नेप्सेले बताएको थियाे ।

एक्कासी बाहिर सूचना गएपछि नेप्सेले आज सोमबार कारोबार खुल्नु अगावै जवाफ पेश गर्न सिभिल बैकलाई निर्देशन दिएको थियाे ।

सिभिल बैंक हिमालयनसँग मर्जरमा जाने भनेर हल्ला चलेपछि आइतबार सिभिल बैंकको शेयर मूल्य निकै बढेको थियाे । मर्जरको हल्लापछि लगानीकर्ताहरु सिभिलको शेयर किन्न आइतबार ‘लाइन’ नै लागेका थिए ।