बामदेवलाई राष्ट्रियसभामा मनोनीत गरिएकाे निर्णय बदर गर्न अदालतमा रिट

-



     सफल आवाज    
     असाेज ५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ५ असाेज । नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आज रिट दायर गरेका हुन ।

रिट निवेदनमा नेता गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयले गत भदौ २९ गरेको निर्णयलाइ बदर गर्न माग गरिएको छ ।

नेता गौतमलाई राष्ट्रियसभामा गरिएको मनोनित असंवैधानिक भएको उल्लेख गर्दै सांसदका रुपमा कार्य गर्न नदिन र मन्त्रिमण्डलमा लैजाने कार्य रोक्न अन्तरिम आदेशको माग रिट निवेदनमा गरिएको बताइएकाे छ ।

अदालतले निवदेनमाथिकाे प्रारम्भिक सुनुवाई यही असोज ७ गते गर्ने तय गरेको राससले लेखेकाे छ।