२२ औं वार्षिकोत्सवका अवसरमा यति एयरलाइन्सकाेआकर्षक प्याकेज

-



     सफल आवाज    
     असाेज ६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ६ असाेज । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सस्तो मूल्यकाे प्याकेज सार्वजनिक गरेको छ । कम्पनी स्थापनाको २२ औँ वार्षिकोत्सवका अवसरमा याे प्याकेजकाे घाेषणा गरिएकाे कम्पनीले जनाएकाे छ ।

कोभिड–१९का कारण थलिएको पर्यटनलाई जीवन्त तुल्याउन कम्पनीले देशका विभिन्न गन्तव्यमा आकर्षक प्याकेज ल्याएको हाे। छ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रलाई चलायमान बनाई आर्थिक गतिविधि बढाउन प्याकेज ल्याइएको कम्पनीले जनाएकाे छ । यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकत अनोज रिमालले नयाँ परिस्थितिमा आन्तरिक पर्यटनलाई चलायमान बनाउन कम्पनीले याे आकर्षक प्याकेज ल्याएको बताए ।

आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै पर्यटन उद्योगलाई पुनस्थापित गर्न ‘आन्तरिक पर्यटनका लागि सँगसँगै’ भन्ने नाराका साथ कम्पनीले होटल, ट्राभल्स, ट्रेकिङ्गलगायत कम्पनीसँगको सहकार्यमा प्याकेज बनाइएको जनाएको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार ‘अब एयरलाइन्सले यात्रुलाई गन्तव्यसँग जोड्ने मात्र छैनन्, गन्तब्य घुमाउने पनि छन्’ भन्ने सन्देश आम यात्रुवर्गलाई दिन भ्रमण प्याकेज बनाइएको हो ।

आन्तरिक पर्यटन प्रवर्द्धन गरी गतिविधि सूचारु गर्ने लक्ष्यसहित अक्टोवर २०२० बाट लागू हुने गरी प्याकेज बिक्री थालिएको छ । अहिले यतिले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, चितवन र रारालाई लक्षित गरी प्याकेज बनाएको छ । कम्पनीले नेपालगन्ज, भरतपुर, जनकपुर, भैरहवा, भद्रपुर र तुम्लिङटारका लागिसमेत दुईतर्फी टिकटसहितका प्याकेज बनाएको छ । यी गन्तव्यमा होटेलको स्तरअनुसार मूल्य राखिएको छ । यती एयरलाइन्सको आन्तरिक पर्यटन प्याकेज अभियान घोषणा गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत हिक्मतसिंह ऐरले यतीको पर्यटकीय प्याकेजमा पूर्वमा पाथिभरा र पश्चिममा खप्तडलगायतका गन्तव्यलाई समेत जोड्न कम्पनीलाई आग्रह गरे ।

पर्यटकीय प्याकेज: एभरेष्ट ट्रेल : रु १३ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम १० यात्रु आवश्यक), रारा: रु २४ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन, न्यूनतम पाँच यात्रु आवश्यक), पोखरा : रु ५९९९-७९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), चितवन : रु १२ हजार ९९९ र रु १६ हजार ९९९ प्रतिव्यक्ति (दुई रात, तीन दिन), मुक्तिनाथ दर्शन : रु १२ हजार ९९९ प्रतिव्यक्ति (तीन रात, चार दिन, न्यूनतम छ यात्रु आवश्यक) रहेकाे जनाइएकाे छ ।

मुक्तिनाथ दर्शन: रु १६ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम सात यात्रु आवश्यक), अन्नपूर्ण फुटहिल्स ट्रेल घान्द्रुक : रु ११ हजार ९९९ प्रतिव्यक्ति (पाँच रात, छ दिन, न्यूनतम छ यात्रु आवश्यक) र अन्नपूर्ण लक्जरी घान्द्रुक ट्रेल : रु १९ हजार ९९९ प्रतिव्यक्ति (चार रात, पाँच दिन, न्यूनतम आठ यात्रु आवश्यक) लगायतका प्याकेज रहेका छन ।

एप्सबाट टिकट : यती एयरलाइन्सका ग्राहकले टिकट आफ्नै मोबाइल फोनबाट काट्न सकिने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सोही प्रयोजनका लागि कम्पनीले मोबाइल एप सार्वजनिक गरेको छ । अब मोवाइलबाट टिकट बुकिङ, स्काईक्लव माइलेज तथा फ्लाइट स्टाटस चेकजाँच गर्न, वेभ चेकिङ, कार्गो ट्रयाकिङ, हवाई तालिका र भाडादर हेर्न सकिने भएको छ । उडान शुरु बन्दाबन्दीको छ महिनापछि यतीले साेमबारदेखि आन्तरिक उडान शुरु गरिएको जनाएको छ ।

एअरलाइन्सका सिइओ रिमालले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्यको मापदण्ड तथा कम्पनीले बनाएको स्वास्थ्य प्रोटोकलको पालना गरी उडान शुरु गरिएको जानकारी दिए । उनका अनुसार कम्पनीले चालक दल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर डब्लुएचओ नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एअरलाइन्स तथा तारा एअरको छुट्टाछुट्टै कार्यविधि बनाएर सुरक्षित रुपमा जहाज सञ्चालन गरेको बताइएकाे छ ।