कर्णिकारको नेतृत्वमा मिडिया अलाइन्स नेपाल गठन

-



     सफल आवाज    
     असाेज ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ असोज । संचार उद्योगको व्यवसायिक हक, हित तथा सुरक्षाका लागि काठमाडौंमा आज मिडिया अलाइन्स नेपाल गठन भएको छ । राष्ट्रिय न्यूज मिडिया संस्थाहरूका सञ्चालकहरुको बैठकबाट मिडिया अलाइन्स नेपाल गठन गरिएको हो ।

नयाँ गठित अलाइन्सको अध्यक्षमा एभिन्यूज टेलिभिजनका अध्यक्ष भाष्करराज कर्णिकार रहेका छन । सल्लाहकारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका अध्यक्ष विनोद ज्ञवाली रहेका छन । उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशन प्रालिका महेन्द्र शेरचन र माउन्टेन टेलिभिजनका अध्यक्ष राजु कँडेल रहेका छन । महासचिवमा इमेज च्यानलका सिइओ लक्ष्मण हुमागाई र कोषाध्यक्षमा इप्रेशन पब्लिकेशन्स तथा मिडिया प्रालिका अध्यक्ष उज्जवल शर्मा रहेका छन ।

कार्यसमिति सदस्यहरुमा रिपब्लिका मिडियाका कार्यकारी प्रमुख समृद्धि ज्ञवाली, प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला र एपीवान टेलिभिजनका उपाध्यक्ष राजेन्द्र शाक्य रहेका छन ।
आज काठमाडौंमा आयोजित घोषणा कार्यक्रममा अध्यक्ष कर्णिकारले मिडिया अलाइन्स राजनीतिक उद्देश्यले नबनेको बताए । उनले भने, यो व्यवसायिक हक, हित तथा सुरक्षाका लागि गठन भएको हो । संस्थाले मिडिया उद्योगको हितको लागि काम गर्ने उनले बताए ।

अलाइन्सका सल्लाहकार तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले भने, हामी राष्ट्रियता र लोकतन्त्रप्रति प्रतिबद्ध भएकोले मिडियाकै क्षेत्रको काम गर्ने बताए । हाम्रो पहिलो सर्त भनेको लोकतन्त्र र राष्ट्रियता हो, थापाले भने, कोरोनाको कारणले मिडिया संकटको अवस्थामा पुगेको थापाले बताए ।फोटो साभार :दिपेन श्रेष्ठ,अन्नपूर्ण पोष्ट डट कम