१२०७ संक्रमित थप, झण्डै ७४ प्रतिशत निको

-



     सफल आवाज    
     असाेज १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० असोज । नेपालमा १ हजार २ सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गएको २४ घण्टामा भएको परीक्षणमा १ हजार २ सय ७ जना संक्रमित थपिएको जनाएका हुन् । उनका अनुसार कुल संक्रमित मध्ये देशभर १८ हजार ३ सय ४१ जना सक्रिय संक्रमित छन् । गएको २४ घण्टामा नेपालमा १० हजार १९ जनाको पीसीआर परीक्षण भएको हो ।

यसैगरी, गएको २४ घण्टामा १ हजार १ सय ४७ जनाले कोरोना जितेका छन् । यो सहित कुल निको हुनेको संख्या ५३ हजार १५ पुगेको छ । कोरोनाबाट निको हुने ७३.८ प्रतिशत रहेको छ ।

आइसीयूमा हाल देशभर २ सय २४ जना र भेन्टिलेटरमा २७ जनाको उपचार भइरहेको छ ।

हाल ५ सय बढी सक्रिय संक्रमित रहेका जिल्लाहरु ७ वटा छन् । जसमा मोरङ, सिरहा, ललितपुर, काठमाडौं, चितवन, भक्तपुर र रुपन्देही रहेका छन् । संक्रमित शून्य जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु हुन् । विश्वभर कोरोना प्रभावका कारण नेपालमा ७६ हजार ९ सय ६७ जना नेपालीहरु विदेशबाट फर्किए ।

यसैबीच, नेपालमा संक्रमित संख्या दिनानुदिन बढ्दा यो कुन चरणमा पुग्यो भन्नेबारे यकिन छैन । सबैको एकमत पाइँदैन । सरकारी अधिकारीहरु नेपाल क्लस्टर अफ केस चरणमा रहेको दाबी गर्दा जनस्वास्थ्यका विज्ञहरुले राजधानीलगायत केही स्थानमा समुदायस्तरमै फैलिसकेको दाबी गर्दै आएका छन् । तर सोको पुष्टि कसैले गर्न सकेको छैन । यसै विषयलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले समुदायबाट रगतको नमूना संकलन गरी एन्टिबडी परीक्षण गर्ने तयारी गरेको जनाएको छ ।

डब्लूएचओको प्राविधिक सहयोगमा आगामी दसैँ पर्वसम्म समुदायमा कोरोना भाइरसको अवस्था पत्ता लगाउन यो परीक्षण गरिसक्ने महाशाखाको लक्ष्य छ ।

साथै, कोरोना भाइरस केही होइन भनी सामान्य रुपमा नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ । प्रवक्ता डा. गौतमले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै मिलेर कोरोनाविरुद्ध सचेत रहँदै दैनिक जीवनयापन गर्नुको विकल्प नरहेको बताए । उनले अत्यावश्यक काम नपरी सकेसम्म घरबाहिर नजान पनि दोहोर्‍याएका छन् ।