
बेनी, १२ असोज । व्यवसायीक कृषि कर्ममा लागेका म्याग्दी बेनीका युवाहरुले आफ्नो व्यवसायबाट भएकाे आम्दानीले निकै सन्तुष्ट भएको बताएका छन । बेनी नगरपालिका–६ अर्थुङ्गेका २७ वर्षीय युवा कमल पौडेल पशुपालनबाट गरेको आम्दानीले सन्तुष्ट छन । करिब नौ वर्ष अघि रोजगारका लागि विदेश जाने हुटहुटी चलिरहेकै बेला पौडेलले आफ्नै गाउँ ठाउँमा पसिना बगाउने निधो गरे । आफ्नै रोजाइको व्यवसायको रुपमा कुखुरा र गाईभैँसी पालनमा होमिए ।
पौडेलको फार्ममा अहिले १० वटा भैँसी र एउटा गाई छन । दैनिक उनको फार्मबाट एक सय लिटरको हाराहारीमा दूध उत्पादन हुन्छ । विहान उठेदेखि बेलुकीसम्मको समय पनि फार्ममै बित्छ । गाईभैँसीको स्याहार सुसार र बजारसम्म दूध पु¥याउने पौडेलको नियमित दैनिकी हो । दूध उत्पादनसँगै कुखुरा पाल्दै आएका पौडेलले गोठ र कुखुराको खोर व्यवस्थित रुपमा निर्माण गरेका छन । उनले रु ५० लाखभन्दा बढी नै लगानी गरिसकेका छन ।
अध्ययनको क्रममा केही समय बेनीमा रोजगारमा रहेका पौडेलले आफ्नो घर सदरमुकाम बेनी नजिकै रहेको र बजारको अभाब पनि नहुने देखेपछि व्यावसायिक पशुपालनमा पाइला चालेका हुन । शुरुवातमा लगानी गर्ने पैसा पनि थिएन, बैँकबाट ऋण नै गरेर गाईभैँसी खरिद गरेँ, पछि दूध बिक्री गर्न थालेपछि यसैबाट भएको आम्दानीलाई फार्ममा लगानी गर्दै आएको पौडेलले बताए । गत वर्ष भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत मोडल फार्मको रुपमा छनौट भएर रु २ लाख ५० हजार बराबरको अनुदानमा थप पूर्वाधार निर्माण गरेका उनले पछिल्लो समय सरकारले समेत पशुपालन क्षेत्रलाई प्राथमिकता दिन थालेकोमा खुशी छन । पशुपालन सुखको व्यवसाय होइन, यसबाट भएको आम्दानी र खर्चमा भने म सन्तुष्ट नै छु, यसैलाई थप व्यवस्थित गर्दै लैजाने हो–पौडेलले भने ।
वडाको एकपाटेका युवा विनोद बानियाँ पनि पशुपालनमै लागेका छन । पाँच वर्षअघि दुईवटा भैँसीबाट दूध उत्पादनमा लागेका बानियाँले अहिले सात वटा भैँसी पालेका छन । विदेश जाने भनेर निकै समय लागेँ, लाखौँ पैसा दलालले खायो, त्यसपछि विदेश जाने मोह हरायो । आफ्नै ठाउँमा खालीहात बसेर पनि पुग्ने कुरा रहेन, त्यसपछि यहीँको माटोसँग खेल्ने निधो गरेर भैँसी पालनमा लागेको हुँ– बानियाँले बताए । किसानको दूधको मूल्य नबढाउँदा भने लगानी र परिश्रम अनुसारको आम्दानी गर्न नसकिएको उनको दुखेसो छ ।
बानियाँसँगै उनका भाई मनोज बानियाँ पनि भैँसी र कुखुरापालनमै सक्रिय छन । बानियाँ दाजुभाइले पशुपंछी पालनसँगै तरकारी खेतीलाई समेत आम्दानीको स्रोत बनाएका छन । बेनीमा पौरखी कृषकका यी प्रतिनिधि युवाहरु हुन । बेनी नगरपालिका–६ नम्बर वडामा दर्जनबढीले गाइभैँसी र कुखुरापालनबाट जिवनस्तर उकासेका छन । बाँसबोटका जीवनप्रसाद पौडेल र रुद्र पौडेलले तीन वर्षदेखि युनियन कृषि तथा पशुपंक्षी फार्म सञ्चालन गरेका छन । पौडेल दाजुभाइको फार्ममा ८ भैँसी, १ हजार ५ सय कुखुरा र २३ वटा बाख्रा रहेका छन । एकपाटेका रामप्रसाद शर्मा र थाकनपोखरीका रमेश रेग्मीले समेत १०/१० भन्दा बढी र गोविन्द पौडेलले ६ वटा भैँसी पालेका छन । कुरीला खर्कमा सुरेश ढुंगानाले भैँसी र कुखुरा तथा कृष्णप्रसाद आचार्य भैँसीपालनमा क्रियाशिल छन । एकपाटेका अमृत बानियाँ, गणेश शर्मालगायत पनि कुखुरापालनबाटै आयआर्जन गर्न सफल भएका छन । दुग्ध उत्पादनको लागि गाईभैँसी, मासु र अण्डाको लागि कुखुरा पालन गर्दै आएका अधिकाँश युवाहरु आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताउँछन ।
बेनी बजारमा खपत हुने ७५ प्रतिशत दूध बेनपा–६ बाटै पूर्ति हुने गरेको बेनी नगरस्तरीय एकता दुग्ध उत्पादक तथा गाईभैँसी स्रोत केन्द्र विकास समितिका अध्यक्ष समेत रहेका कृषक जीवनप्रसाद पौडेलले बताए । बेनी नगरक्षेत्रमा मात्रै दुई दर्जनभन्दा बढी कृषकले व्यावसायिक रुपमा दूध उत्पादन गर्ने गरी गाईभैँसी पालन गर्दै आएका छन । समितिका अनुसार बेनी बजारमा मात्रै दैनिक एक हजार ५०० लिटरको हाराहारीमा दूध खपत हुने गर्छ । अहिले कृषकहरुले बजारमा प्रतिलिटर ९० रुपैयाँमा दुध बिक्री गर्दै आएका छन । बेनी नगरपालिकासँगै जिल्लाको रघुगंगा, मंगला र मालिका गाउँपालिकामा समेत व्यावसायिक रुपमा गाईभैँसी पालनको लहर शुरु भएको छ ।रासस






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



