पुनर्कर्जाका लागि आवेदन दिने म्याद असाेज ३० सम्म, क-कसले पाउँछन् पुनर्कर्जा ?

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित




काठमाडौं, १३ असाेेज । नेपाल राष्ट्र बैंकले कोभिड पीडितलाई पुनर्कर्जाको लागि आवेदन दिने समय थप गरेको छ । बैंकले असोज ३० गतेसम्मका लागि म्याद थप गरेको हो । यसअघि बैंकले असोज १४ गतेसम्म पुनर्कर्जाको लागि आवेदन दिन भनेको थियो । स्थानीय निकायले कोभिड १९ को रोकथामको लागि लकडाउन, निषेधाज्ञा जस्ता कारणले आवेदन दिन नपाएको भन्दै सरोकारवाला निकायले समय बढाइदिन अनुरोध गरेपछि राष्ट्र बैंकले समय थप गरेको जनाएको छ ।

राष्ट्र बैंकले पुनर्कर्जासम्बन्धी नयाँ कार्यविधि तय गरेको छ। जसअनुसार घरेलु तथा साना उद्यमीलाई पनि यस्तो कर्जामा समावेश गरिएको छ। साथै कर्जा प्रक्रियामा केही सहजता दिलाइएको छ।

यो कर्जाको ब्याजदर तुलनात्मक रूपमा सस्तो हुन्छ। एकमुष्ट रूपमा प्रदान गरिने यस्तो कर्जा ऋणीले बढीमा १ वर्षसम्म प्रयोग गर्न सक्नेछन्। कोरोनाबाट प्रभावितले पनि यस्तो कर्जा पाउने नयाँ व्यवस्था गरिएको छ।

बैंकहरूले तोकेका कोरोनाबाट अति प्रभावित ऋणीले १ वर्षसम्म तथा मध्यम र न्यून प्रभावित क्षेत्र भनी तोकिएकाले अधिकतम् ६ महिनासम्मको अवधि रहने गरी कर्जा पाउने छन्।

राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यमीलाई प्रतिग्राहक १५ लाख रुपैयाँसम्म र मध्यम तथा विशेष उद्यमीलाई साधारण पुनर्कर्जा ५ करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाहरूमार्फत् प्रदान गर्दछ।