पोखरा महानगरमा अनलाइनबाट कृषकको वर्गीकरण

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



पोखरा, १३ असोज । पोखरा महानगरपालिकाले महानगरभित्र कृषकको अनलाइनमार्फत वर्गीकरण गर्ने भएको छ । सोकोलागि अनलाइनमार्फत आवेदन लिन सक्ने व्यवस्था मिलाइएको छ ।

महानगर कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार वेबसाइट एपीएमएस डट पोखराकृषि डटकम मार्फत अनलाइन दर्ता फारम भरेर कृषक सूचीकृत हुन सक्नेछन् ।

अनलाइन सेवा उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसी ।

जसमा कृषकले सबै विवरण घरमै बसेर मोबाइलबाटै पनि भर्न मिल्ने गरी व्यवस्था मिलाइएको छ । फारममा कृषकको सम्पूर्ण विवरण भरेर पेश गरेपछि उक्त विवरणकै पहिचान गर्न सहज हुने उनको भनाइ छ ।

कृषकले पेश गरेको विवरण सम्बन्धित वडाले रुजु गरी सिफारिसका साथ महानगर कृषि तथा पशु विकास महाशाखामा पठाउने र सम्बन्धित किसानले परिचयपत्र नम्बर र वर्गीकरण सहितको कार्ड प्राप्त गर्ने जनाइएको छ ।

महानगर मेयर मानबहादुर जिसीले महानगरलाई स्मार्ट बनाउने अवधारणा अनुरुप सो अभियान सुरु गरिएको बताए । उनले प्रविधि प्रयोग गरी कृषिमा थप जागरण ल्याउन र वास्तविक कृषकको पहिचान गर्न यसले मद्दत गर्ने अपेक्षा गरे ।