१५१३ संक्रमण थपिए, सक्रिय संक्रमित नाघे २० हजार

-



     सफल आवाज    
     असाेज १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ असोज । नेपालमा गएको २४ घण्टामा १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर १ हजार ५ सय १३ जना संक्रमित थपिएको जनाएका हुन् । यसरी कुल संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ ।

तीमध्ये हाल २० हजार २ सय ९६ जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म निको निको हुने संख्या ५५ हजार ३ सय ७१ जना पुगेको छ ।

देशभरमा ९ हजार ६ सय ८९ जना संस्थागत आइसोलेसनमा बसेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो समय १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको कुल संख्या ४ सय ९१ पुगेको छ ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साबुनपानीले पटकपटक हात धुन पुनः सुझाव दिएको छ । यसो गरेमा मात्रै संक्रमणमा ३६ प्रतिशतमा कमी ल्याउने एक अध्ययनले देखाएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले नेपाल सरकारका कार्यालय, विद्युत् प्राधिकरण, मालपोत, खानेपानी, टेलिकम, तरकारी बजार, बसका टिकट काउन्टर, प्रतीक्षालय, अस्पताल, व्यारेक लगायतमा जनस्वास्थ्यको मापदण्ड कायम नभएको पाइएको भन्दै त्यस्ता खालका स्थानमा अनिवार्य रुपमा हात धुने व्यवस्था मिलाउन, २ मिटरको दूरी कायम गरी काम गर्ने वातावरण मिलाउन, मास्कको अनिवार्य प्रयोग गर्न वा गराउन आग्रह गरेको छ ।