पढाइ शुल्क तिर्न नसक्दा मिस्त्रीको काम शुरु गरे खेमराजले

-



     सफल आवाज    
     असाेज १४ गते २०७७ मा प्रकाशित



कर्णाली, १४ असोज । गाडीमुनि लम्पसार भई माथितिर फर्किएर एउटा बालकले गाडीको पार्टपूर्जा बनाइरहेको दृश्य हामी कमैले देखेका हौंला । यो दृश्य देख्दा धेरैलाई अचम्म लाग्नु स्वाभाविकै हो । शुभकालिका गाउँपालिका–४, साविक सुकाटिया २०, कालीकोटका खेमराज चौलागाईं १६ वर्षको उमेरदेखि जहाँ गाडी बिग्रन्छ, त्यहाँ कसैले बोलाउने बित्तिकै गाडी बनाउन पुग्थे । अहिले पनि याे काम दाेहाेरिरहेकाे छ । चौलागाईंलाई अहिले १८ वर्षका हुँदा पनि उस्तै दृश्यमा देखिन्छन ।

आजभोलि धेरै बालबालिका सामाजिक सञ्जालमा, मोबाईलमा गेम खेलेर, गीत बजाएर, युट्युब हेरेर, कमेन्ट गरेर दिन बिताइरहेका घटना खोज्न जानुपर्दैन । यस्तो परिवेशमा बालक चौलागाईंले भने आफूलाई बाल अवस्थामै श्रमसँग जोडेर आत्मनिर्भर बनाउने एउटा असामान्य चरित्रका रुपमा उभ्याएका छन । पाँच कक्षासम्म कर्णाली अङ्ग्रेजी बोर्डिङ स्कुल ताडी कालीकोटमा अध्ययन गरेका उनले ७ देखि १० कक्षासम्म जनजीवन मावि ताडी र हाल १२ कक्षाको अध्ययन पनि सोही विद्यालयमा गर्दै आए । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिँदै गर्दा गणित विषयको ट्युसन शुल्क तिर्न नसक्दा आर्थिक उपार्जनको लागि विकल्प खोज्ने क्रममा मिस्त्री काम शुरु गरेको चौलागाईंले बताए ।

गरिबीका कारण दुई वर्षअघि कक्षा १० मा गणित विषयको ट्यूसन पढ्दै गर्दा शिक्षकले मागेको शुल्क तिर्न सकिन, निकै हिनता बोध भयो । उनले भने, घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइमा अवरोध आउन थालेपछि कमाएर पढ्ने विकल्प खोज्दा पासाङ् अटोपाट्र्स कालीकोटमा मिस्त्रीको काम मिल्यो । त्यहीँबाट आर्थिक जोहो हुन थालेको उनले बताए ।

शुल्क तिर्न नसकेका कारण एसइई परीक्षा दिँदा गणित विषयमा फेल भएको तितो अनुभूति सुनाउँदै उनले ११ कक्षाको परीक्षामा एक महिना बिदा लिएको र नतिजा ‘बी प्लस’ आएको बताए । कोरोना महामारीका कारण भने १२ कक्षाको पढाइ र परीक्षा दुबै अन्योल अवस्थामा रहेको उनले बताए ।
उमेर सानो देखिए पनि उनको काम ४० वर्षको व्यक्तिले गर्ने भन्दा कम छैन । गाडीको फोहर र जमिनको धुलोमा लट्पटिएर बिग्रेका पाटपूर्जा बनाउनु चौंलागाईंको दैनिकी बनेको छ । जहाँ जतिबेला गाडी बिग्रन्छ, चालकको आग्रहमा त्यसको ममर्त गर्ने र नयाँ पाटपूर्जा हालेर सञ्चालनमा ल्याउने काम उनले गर्दै आएका छन । अहिले चौलागाईंलाई सफल अटोपाट्र्सको काम गर्न भ्याइनभ्याई छ ।

बाह्र कक्षामा अध्ययनरत चौलागाईं अहिले १८ वर्षमा लागे । दुई वर्ष अघिदेखि सङ्घर्षको यात्रा थालेका उनले गरिबीका कारण आफ्नो जीवनको इञ्जिनीयर बन्ने धोको अधुरो भएको भन्दै दुःख व्यक्त गरे । घरमा एक दिदीसहित चार बहिनी छन । बुबा कवाडी काम गर्छन । आमा गृहिणी हुन । उनले भने, जग्गा जमिन नहुँदा परिवारको गुजारा गर्न मेरो कामले सघाएको छ ।

हाल चौलागाईंले सफल अटोपाट्र्स कालीकोटमा काम गरिरहेका छन । भोक, गरिबी, अभाव, अशिक्षा र उत्पीडनले जीवनमा केही गर्ने अवसर प्रदान गर्दो रहेनछ भन्ने अनुभव उनलाई मिलेको छ । चुनौती र समस्यालाई अवसरमा बदल्नेले समाजमा फरक इतिहास निर्माण गर्छन भन्ने बुझेको बताउँदै चौलागाईंले इञ्जिनीयर बन्ने सपना तुहिए पनि गाडी इन्जिनीयर बन्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका राससले लेखेको छ ।

दिदी टाउकोको बिरामी हुँदा कसरी उपचार गर्ने भन्ने कुराले अहिले पिरोल्दै आएको उनले बताए । अन्य चार बहिनीको पढाइ खर्च पनि उनले नै पुर्याउदै आएका छन् । बाल्यकालमै श्रमसँग जोडिएका चौलागाईलाई हेर्दा आत्मनिर्भर बन्नका लागि उमेरले नछेक्ने रहेछ भन्ने सन्देश दिएको छ ।