
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकी विश्वविद्यालयमा उपकुलपति नियुक्त प्राडा नवराज देवकोटालाई शपथ ग्रहण गराउँदै ।
पोखरा, १७ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले राजनीतिक भागबन्डा आधारमा पदाधिकारी चुन्दा योग्य व्यक्तिहरुको अपमान हुने बताएका छन् । विश्वविद्यालय अध्ययन र अनुसन्धानको थलो हुनुपर्ने तर राजनीति गर्ने थलो हुन नहुने उनको जोड छ ।
गण्डकी विश्वविद्यालयको संरक्षक हैशियतमा मुख्यमन्त्री गुरुङले शुक्रबार पोखरामा प्राडा नवराज देवकोटालाई उपकुलपति पदको शपथ ग्रहण गराएपछि मन्तव्यका क्रममा सो कुरा बताएका हुन् ।
साथै उनले भने, ‘विश्वविद्यालयमा पहिला–पहिला राजा–महाराज कुलपति हुन्थे, अहिले विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुने चलन छ । तर मैले कुलपति पनि हुन चाहिनँ । मुख्यमन्त्री कुलपति हुने होइन ।’
‘पहिलो र अन्तिमपटक गण्डकी विश्वविद्यालयमा हामीले कुलपति र उपकुलपति नियुक्त ग¥यौं । अब मुख्यमन्त्रीले कुलपति र उपकुलपति चुन्दैन । न्यासिक परिषद जुन छ, त्यसैले क्राइट्रेरिया बनाएर चुन्छ । न्यासिक परिषद्का सदस्य हरेक २ वर्षमा एकतिहाइ खाली हुन्छ र नयाँ आउँछन्, न्यासिक परिषद सस्यको पनि क्राइट्रेरिया छ । प्राज्ञिक व्यक्तिहरुबाटै विश्वविद्यालयका पदाधिकारी चुन्ने हो । प्राज्ञिक व्यक्तिहरुले विश्वविद्यालयस्वायत्त ढंगबाट चलाउने हो,’ उनले अगाडि भने, ‘यो विश्वविद्यालय मेरो पालामा खोलेको भन्नका लागि मात्रै पनि खोलेको होइन । अहिले मुलुकमा जसरी विश्वविद्यालयहरु चलेका छन्, त्यसरी होइन फरक ढंगले चल्नुपर्छ भनेर गण्डकी विश्वविद्यालय खोलेका हौं । गण्डकी विश्वविद्यालय देशकै नमुना हुनुपर्छ र दक्षिण एसियाका गिनेचुनेका विश्वविद्यालयमा दर्ज हुनुपर्छ ।’
गण्डकी विश्वविद्यालय अनुसन्धानको थलो होस् भन्ने आफूहरुले चाहेको भन्दै उनले प्रदेशका सुन्तलाका बोटमा रोग लाग्यो । किन लाग्यो के लाग्यो ? त्यो रिसर्च हुनुपर्नेमा जोड दिए । उनले नेपाली कोदोको रक्सी ब्रान्डिङ र बजारीकरणका लागि के कसरी गर्न सकिन्छ भनी रिसर्च हुनुपर्नेमा जोड दिए । उनले भने, ‘यी सामान्य उदाहरणमात्रै हुन् । थुप्रै छन् रिसर्चका विषय ।’
उनका अनुसार हाल गण्डकीमा १ सय ४६ वटा कलेज छन् । तीमध्ये आधामा शिक्षा संकायमा पढाइ हुन्छ । १५ प्रतिशतमा मात्रै विज्ञान छ ।
मुख्यमन्त्रीले भने, ‘हामीलाई प्राविधिक जनशक्ति चाहिएको छ । गण्डकी विश्वविद्यालयले प्राविधिक शिक्षालाई जोड दिनेछ । आधारभूत तहका जनताका छोराछोरीको पनि प्राविधिक शिक्षामा पहुँच हुनुपर्छ ।’
सम्बन्धन बेचेर विश्वविद्यालय बाँच्ने होइन भन्दै उनले सरकारले लगानी गर्नुपर्नेमा जोड दिए । ‘विश्वविद्यालय आफैंले पनि केही न केही त आर्जन गर्छ । हामीले यही आर्थिक वर्षदेखि नर्सिङ लगायत केही विषयको पढाइ सुरु गर्ने हो, अर्को वर्ष बीडीएसको पढाइ सुरु गर्ने हो । आफ्नै शिक्षण अस्पताल पनि चलाउने हो । अस्पतालले पनि विश्वविद्यालयलाई खर्च धान्न मद्दत गर्छ ।’
‘हाल जसरी ब्रेनड्रेन भइरहेको छ, त्यसलाई रोक्न नसकौंला । तर हामी विकल्प दिन्छौं । संसारमै नाम कहलाएको सिंगापुरको विश्वविद्यालयको शिक्षा हामी यहीं दिन चाहन्छौं । अस्ट्रेलिया र युरोपको जस्तो शिक्षा यहीं दिन चाहन्छौं,’ उलने भने ।
गोरखा जिल्लाका प्राडा देवकोटा बिहीबार गण्डकी विश्वविद्यालयको उपकुलपति नियुक्त भएका हुन्।
सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित कमिटीले २ जनाको नाम सिफारिस गरेकोमा प्राडा देवकोटाले नियुक्ति पाएका हुन् । विश्वविद्यालय संरक्षकमा मुख्यमन्त्री गुरुङ छन् । कुलपतिमा प्राडा गणेशमान गुरुङ हुन्।
देवकोटाको नियुक्तिसँगै उनको कार्यकाल ५ वर्षको हुनेछ । शपथसँगै उनले कार्यभार सम्हालेका छन् । त्यसअघि उनी रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयमा कार्यरत थिए।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



