एकै पटक पाँच शिशुको जन्म !

-



     सफल आवाज    
     असाेज १९ गते २०७७ मा प्रकाशित



काठमाडौँ, १९ असोज: तपाइ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियाैं ।

सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन र चार नभई एकै साथ पाँच शिशु जन्माएकी छन् ।

उनले सोमबार अस्पतालमा शल्यक्रियामार्फत पाँच शिशुलाई जन्माएको अस्पतालका निर्देशक डा सङ्गीताकौशल मिश्रको भनाइ छ ।

तीमध्ये एक मृत जन्मिएका छन् । बाँकी चार भने सकुशल छन् । उनका अनुसार आमा र बच्चाको अवस्था राम्रो छ । अक्सिजन दिनुपरेको छैन । अहिले बच्चाहरुलाई शिशु उपचार सघन कक्षमा राखिएको छ ।

डा मिश्रका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन् । जीवित शिशुमा चार जना छोरी हुन् । ती शिशुमध्ये क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्राको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथाको १.६ ग्राम छ । डा मिश्रका अनुसार यसअघि तामाङको दुई पटकसम्म शिशु नजन्मेर खेर गएको थियो ।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीको नेतृत्वमा डा दिप्ति श्रेष्ठ, डा नमिता सिङ्देन र डा मुकेश कुमारले शल्यक्रिया गरेका थिए । रासस