
टेक्सस, अमेरिका, २३ असोज । गैरआवासीय नेपाली सङ्घको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन आजदेखि शुरु हुँदैछ । सम्मेलन असाेज २५ गतेसम्म हुने भएको छ । पहिलो पटक दुई वर्षअघि सङ्घले पहिलो ज्ञान सम्मेलनको आयोजना गरेको थियो ।
हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने सङ्घको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलनको आयोजना गरिएको सङ्घले जनाएको छ । कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट विश्व ज्ञान सम्मेलन गर्न लागिएको सङ्घले जानकारी दिएको छ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको सङ्घका महासचिव एवं सम्मेलन संयोजक डा. हेमराज शर्माले जानकारी दिएका छन् ।
सङ्घका अध्यक्ष कुमार पन्तले नेपालको विकास र समृद्धिका सहयात्रीका रुपमा गैरआवासीय नेपाली रहेको बताउनुहुँदै विदेशमा आर्जन गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालसँग जोड्नका लागि सम्मेलन उपयोगी बन्ने विश्वास व्यक्त गरेका छन् । पच्चीसभन्दा बढी देशका १०० भन्दाबढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३०० भन्दाबढी प्रस्तोताको सहभागिता रहने विज्ञ सम्मेलनमा चार वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र सञ्चालन हुने सङ्घका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन । सङ्घका अनुसार सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् ।
गैर आवासीय नेपाली सङ्घको मुख्य आयोजना र नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा मन्त्री, योजना आयोगका उपाध्यक्ष एवं सदस्य, सांसद, सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका अधिकारी, गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहेका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञ सहभागी हुने सङ्घका महासचिव शर्माले बताए ।
सङ्घका अनुसार सम्मेलनको पहिलो दिन विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्र प्रस्तुत हुनेछन् । यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिने भएको छ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप सङ्कट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानका सत्र समावेश गरिएका छन् ।
तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तरसत्रमा विभिन्न विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने भएका राससले लेखेको छ । ती कार्यपत्रमाथि सम्बन्धित विषयका विज्ञले छलफल गर्नेछन् । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गरिने भएकाे छ । सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञबीच पनि छलफल हुने राससले जनाएको छ । सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकारसमक्ष सुझावका रुपमा प्रस्तुत गरिने सङ्घले जनाएको छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



