मन्त्री भट्टराई र भारतीय राजदुत क्वात्राबीच हवाई उडान बारे छलफल

-



     सफल आवाज    
     असाेज २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राबीच आज शिष्टाचार भेट भएको छ । भेटमा दुई देशवीचको हवाई उडान, उडान प्रवेश विन्दु, पर्यटन र सांस्कृतिक विकासका बारेमा कुराकानी भएको बताईएको छ ।

हवाई क्षेत्रका बारेमा भैरहवा नाकाबाट उडान प्रवेश गर्ने साथै नेपालगञ्ज र महेन्द्रनगरबाट उडान अनुमतिका लागि यसअघि भएको पत्राचारलाई छिट्टै निष्कर्षमा पुर्याउने विषयमा कुरा भएको मन्त्रालयले जानकारी दिएको छ । कोभिड–१९ का कारण भारतमा उडान बन्द रहेको छ । काठमाडौँ र भारतका विभिन्न शहरमा चाँडै उडान शुरु गर्ने विषयमा मन्त्री भट्टराई र राजदुत क्वात्रावीच छलफल भएको छ । दुवैबीच सांस्कृतिक सम्पदाका क्षेत्र पशुपतिनाथ, लुम्बिनी, जनकपुरलाई सांस्कृतिक क्षेत्रको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्नेबारे विषयमा पनि छलफल भएको छ ।

मन्त्री भट्टराईले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा भारत सरकारकाे सहयोगका लागि आभार व्यक्त गरे । राजदूत क्वात्राले नेपालका धार्मिक तथा सांस्कृतिक केन्द्रको विकासको लागि भारत सरकार प्रतिवद्ध रहेको बताए । उनले कोभिड–१९ ले प्रभाव पारेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन भारत सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।