सोच्दै नसोचेको चलचित्र क्षेत्रमा विपिनले पाएको सफलता

-



     कपिल सापकोटा    
     असाेज २४ गते २०७७ मा प्रकाशित



नेपाली चलचित्र क्षेत्रमा अभिनेता विपिन कार्की एउटा परिचित नाम बनेको छ । अभिनयमा आफूलाई अब्बल सावित गरेका विपिन भर्सटाइल कलाकारको रुपमा चिनिन्छन् । उनी आफूलाई हरेक चलचित्रमा भिन्न अवतारमा प्रस्तुत गर्ने गर्छन् ।

चलचित्र छड्केको ‘विन्दु’, पशुपति प्रसादको ‘भस्मे डन’, जात्राको ‘फडीन्द्र’, हरीको ‘हरी’देखि सेल्फी किङ्गको ‘गोपाल’सम्म । विपिनलाई बिल्कुलै फरक अवतारमा देख्न पाइन्छ । ‘प्रसाद’, ‘नाका’, ‘लालपूर्जा’ तथा ‘लुट’ जस्ता चलचित्रमा उनले निर्वाह गरेको भूमिका पनि अविस्मरणिय छन् ।

चलचित्रमामात्र होइन, हिजो-आज त विपिनको नयाँ-नयाँ अवतार म्युजिक भिडियोमा पनि देख्न सकिन्छ । भिडियोमा पनि कहिले उनी ठेट गाउँले भूमिकामा प्रस्तुत हुन्छन् भने महिले भरियाको अवतारमा देखिन्छन् ।

विपिन आफूलाई जहिल्यै भिन्न भूमिकामा प्रस्तुत गर्न मन पर्ने बताउँदै आएका छन् । उनी भन्ने गर्छन्, ‘मलाई कहिल्यै एउटै भूमिकामा काम गर्नु छैन । म त आफूलाई भिन्न भिन्न रुपमा प्रस्तुत गर्न चाहान्छु ।’

विपिन आफूलाई आएको स्कृप्ट र आफूले निर्वाह गर्ने भूमिकामा निकै मिहिनेत गर्छन् । आफूले निर्वाह गर्ने पात्रको बोल्ने लवज, लगाई, खुवाई, हिडाईदेखि हरेक कुरामा विपिनले गहिरो अध्ययन गर्छन् । अनि मात्र उनी उक्त भूमिकाको लागि तयार हुन्छन् ।

विपिन भन्छन्, ‘मैले निर्वाह गरेका धेरै क्यारेक्टरहरु मैले नै तय गरेको छु । त्यसको बोल्ने लवजदेखि हरेक कुरामा मैले नै मिहिनेत गर्छु । आखिर त्यसको फल राम्रै भएको छ ।’

अहिले विपिनलाई अभिनयको बाहशाह मान्नेहरु धेरै छन् । समीक्षात्मकदेखि व्यावसायिकरुपमा पनि विपिनले राम्रो सफलता पाइरहेका छन् । राष्ट्रिय अवार्डसमेत हात पारिसकेका विपिनले यो स्थान भने सजिल्यै पाएका होइनन् । उनले लामो संघर्षपछि बल्ल यो स्थान भेटेका छन् ।

नसोचेको कलाकारिता क्षेत्र

मोरङको बाहुनीमा जन्मिएका विपिन २०५६ सालमा काठमाडौं छिरे । उनको उद्येश्य कलाकारिता पटक्कै थिएन । उनी उच्च शिक्षाको लागि काठमाडौं आएका थिए ।

बीएको पढाईमा नाटक पढ्दा उनले काठमाडौंमा गुरुकुल नाटकघर छ भन्ने पत्तो पाए । उनको गाउँका दाइ कमलमणि नेपाल पनि त्यही अभिनय सिक्थे । उनै कमलमणिलाई भनेर विपिन पनि गुरुकुल जान थाले । विपिनलाई बल्ल नाटकप्रति मोह जाग्यो ।

नाटक कसरी गर्दा रहेछन् भनेर बुझ्न थिएटर धाउने विपिनले जब निरन्तर नाटक हेरे उनीपनि नाटकतिर लोभिए । उनलाई पनि अभिनय गर्ने चाहना बढ्न थाल्यो ।

‘म पढ्नको लागि काठमाडौं आएको थिएँ, कलकारिता भनेको के हो त्यो थाहा थिएन’, विगत सम्झिदै विपिन बोल्छन्, ‘जब म गुरुकुल जान थालेँ, अरुले गरेको अभिनय हेर्दा मलाई पनि अगाडि गएर स्टेजमा अभिनय गर्न मन लाग्थ्यो, तर कसरी गर्ने पत्तै थिएन ।’ 

नाटक निरन्तर हेर्दै गएपछि विपिनले कलाकारले गरेको अभिनय राम्रो वा नराम्रो भनी कमेन्ट गर्न सक्ने भए । उनले गुरुकुलका गुरु र कलाकार विद्यार्थीहरुसँग पनि राम्रो सम्बन्ध बनाए । एक दिन गुरुकुलका संस्थापक गुरु सुनिल पोखरेललले विपिनलाई सडक नाटक खेल्ने प्रस्ताव गरे ।

विपिन भन्छन्, ‘सडक नाटकको लागि कलाकार नपुगेको रहेछ र मलाई अफर गर्नुभयो । मैले पनि चाहेको त्यही थियो । केही सोच्दै नसोची ओके गरे ।’ विपिनको अभिनय यात्रा सडक नाटकबाट सुरु भयो ।

सडक नाटकमा अभिनय गरेपछि उनले गुरुकुलमा नाटकका सानातिना भूमिका पनि पाउन थाले । आफूले पाएको भूमिकामा उनले निकै मिहिनेत गर्थे । उनको कामबाट प्रभावित गुरु सुनिल पोखरेलले उनलाई नियमित काम गर्न प्रस्ताव गरे ।

विपिनलाई ढुंगा खोज्दा देउता मिल्यो । उनले आफ्नो काममा झन् मेहनत गरे । नाटक अभिनयमा फोकस भएर ३ वर्षे डिप्लोमा कोर्स पनि सिध्याए । 

उनले डिप्लोमा कोर्स सिध्याउने बेलातिर गुरुकुल बन्द हुने हल्ला चल्यो । उनी लगायत धेरै कलाकार समस्यामा पर्दै थिए । समस्याको मुखैमा विपिनलाई नयाँ चलचित्रबाट अफर आयो । विपिन भन्छन्, ‘गुरुकुल बन्द भयो भने के गर्ने होला भन्ने कुराको अन्योलतामा नै मलाई चलचित्रको अफर आएको थियो ।’

अनि सुरु भयो चलचित्र यात्रा

गरुकुल थिएटरमा नै नाटक गरिरहँदा उनलाई ‘छड्के’ चलचित्रबाट अफर आएको थियो । त्यति बेलासम्म उनी नाटकमा मुख्य भूमिकामा नै अभिनय गर्ने भइसकेका थिए ।

विपिनले चलचित्रको स्क्रिप्ट पढे । स्क्रिप्ट निकै राम्रो लाग्यो । आफूले गर्नुपर्ने भूमिका राम्रो लागेपछि विपिन काम गर्न तयार भए ।

जब ‘छड्के’ रिलिज भयो, विपिनले निर्वाह गरेको भूमिका ‘नोटिस’ भयो । विपिनले निर्वाह गरेको ‘बिन्दु’ क्यारेक्टरलाई दर्शकले खुबै रुचाए । विपिनको कामको निकै तारिफ भयो ।

‘छड्के’बाट राम्रो प्रशंसा पाएसँगै उनलाई चलचित्रका धेरै अफर आए । चित्तबुझ्दो भूमिका नपाएका कतिपय चलचित्र उनले रिजेक्ट पनि गरे । उनी सानो रोल नै किन नहोस्, चलचित्रमा ‘नोटिस’ हुने खालको भूमिका खोज्थे । त्यस्तो नहुँदा धेरै चलचित्र उनले रिजेक्ट गरे ।

उनलाई अफर आएका चलचित्रमध्ये ‘सुन्तली’ र ‘ताण्डव’ चलचित्रको स्क्रिप्ट मनपर्‍यो । यी चलचित्रमा उनले अभिनय पनि गरे । तर, चलचित्र खासै चलेनन् । ‘राम्रो होला भनि अनिनय गरेको थिएँ । तर चलचित्रले राम्रो व्यपार गर्न सकेनन्’, विपिन उक्त कुरालाई सहर्ष स्विकार्छन् ।

दुइ चलचित्र राम्रो नभए पनि विपिनमा एउटा विश्वास थियो, ‘निरन्तर अभिनय गर्नुपर्छ, एक दिन पक्कै सफल भइनेछ ।’

आखिर विपिनको आत्माविश्वासले धोका दिएन । उनी अभिनित चलचित्र ‘पशुपति प्रसाद’बाट विपिन चर्चाको शिखरमा पुगे । उक्त चलचित्रमा उनले निर्वाह गरेको भूमिका ‘भस्मे डन’ निकै लोकप्रिय भयो ।

पशुपति प्रसाद रिलिज भएसँगै उनको प्रशंसा यति माथि पुग्यो कि, जुन उनले कल्पना पनि गरेका थिएनन् । ‘चलचित्र राम्रो बनेको छ भन्ने थियो । तर यत्ति धेरै मन पराउनु हुन्छ र मलाइ माया गर्नुहुन्छ भन्ने लागेको थिएन’ उनले भने ।

पशुपति प्रसादबाट त उनको परिचय नै परिवर्तन भयो । उनलाई विपिन कार्की भन्दा पनि पशुपति प्रसादको ‘भस्मे डन’ भनेर चिन्न थालियो ।

पशुपति प्रसादको लागि विपिनले धेरै मिहिनेत गरेका थिए । पशुपति प्रसादको स्क्रिप्ट पढ्दा उनी मोहित नै भएका थिए । अब दर्शकको लागि केही नयाँ दिनुपर्छ भन्ने भावना उनीमा थियो, त्यो चाहना पशुपति प्रसादबाटै पूरा हुनेमा उनी आशावादी थिए ।

पशुपति प्रसादको भूमिका खोज्न र स्वर परिवर्तन गर्न डेढ महिना लागेको विपिन बताउँछन् । उनी भन्छन् ‘मैले र हाम्रो टिमले उक्त चलचित्रको लागि निकै मिहिनेत गरेका थियौँ । आखिर त्यसैको फल पायौँ ।’  

‘भस्मे डन’ चर्चामा नै रहेको समय विपिन भिन्न अवतारमा देखिए । चलचित्र ‘जात्रा’मा उनले निर्वाह गरेको ‘फडिन्द्र तिमल्सिना’को भूमिका ‘भस्मे डन’को भन्दा विल्कुलै फरक थियो ।

भस्मे डन जस्तो रिशाह भूमिकामा देखिएका विपिनले जात्राको त्यो सोझो फडिण्द्रको भूमिका निर्वा गर्ला भन्ने कमैले सोचेका थिए । उक्त भूमिकापछि नै हो, विपिनलाई अभिनयको बादशाह भन्न थालिएको । यस चलचित्रबाट विपिनले हरेक पुस्ताका दर्शकलाई आफ्नो बनाउन सके ।

उक्त चलचित्रपश्चात् विपिनले हरी, नाका, प्रसाद र सेल्फी किङ्ग जस्ता चलचित्रमा आफूलाई भिन्न स्वरुपमा प्रस्तुत गरे । उनले हरेक चलचित्रबाट राम्रो प्रतिक्रिया पाउने गर्छन् ।

व्यापारिक रुपमा ढुक्क छैनन् निर्माता !

विपिनको अभिनयमा कसैले प्रश्न सोझ्याउन सक्दैनन् । तर, कतिपयले विपिनले निर्मातालाई सुरक्षित गर्न नसक्ने प्रश्नहरु तेर्साइरहेका हुन्छन् । विपिन अभिनित केही चलचित्रहरु व्यापारिक रुपमा हिट नहुँदा विपिनलाई यो प्रश्न तेर्सिने गर्छ ।

तर, विपिन आफूलाई व्यापारिक पाटोसँग जोडेर नहेर्न आग्रह गर्छन् । उनी भन्छन्, ‘हाम्रो काम भनेको त अभिनय गर्ने हो नि । व्यापारिक पक्षसँग त हामीलाई खासै मतलब नै हुन्न नि ।’

यति भन्दै गर्दा पनि निर्मातालाई जोगाउनु पर्ने दायित्व कलाकारमा हुने कुरालाई विपिनले नकार्दैनन् । ‘मैले गर्न सक्ने जोड मैले गरेको नै हुन्छु । मैले भूमिका र स्कृप्टमा थप मिहिनेत गरिदिन्छु । रिलिज भएपछि त सम्पूर्ण जिम्मा दर्शकहरुको नै हो ।’

नयाँ चलचित्रको तयारी

लकडाउनको समय विपिनलाई धेरै चलचित्रबाट अफर आए । तर, विपिनले एकमात्र चलचित्र साइन गरेका छन् । त्यो हो, ‘प्रसाद २’ ।

विपिनले धेरै चलचित्रको प्रस्ताव अस्विकार गरेका छन् । केही चलचित्रको स्कृप्ट विपिनलाई चित्तबुझ्दो भएन भने केही चलचित्रको भूमिका आफूलाई सुहाउँदो पाएनन् । विपिन भन्छन्, ‘स्कृप्ट नै नराम्रो छ भन्न त मिल्दैन । तर, केही चलचित्रको भूमिका नसुहाउँदो भएकाले नगर्ने पक्षमा छु ।’

विपिनलाई एक चलचित्रको भने स्कृप्टले ध्यान खिचेको छ । उक्त स्कृप्टमा थप छलफल भइरहेको विपिन बताउँछन् । ‘एउटा चलचित्रको स्कृप्ट मन परेको छ । सायद उक्त चलचित्रमा काम गर्छु कि !’