
सांकेतिक फाेटाे
काठमाडौँ, २७ असोज । सडक स्तरोन्नति नहुँदा राजधानी नजिकका तीन नगरका वासिन्दाले सास्ति खेप्नु परेकाे छ । उत्तरपूर्वी भेगका तीन नगरपालिकाका बासिन्दालाई सरकारी कार्यालयमा सेवा लिन जान सहज हुने सबैभन्दा छोटो मार्ग सुन्दरीजल–सूर्यमण्डली–साँखु सडक ६ वर्षदेखि अलपत्र हुँदा सेवाग्राही तेब्बर बढी बाटो घुम्न बाध्य भएका हुन।
घट्टेखोलामा विसं २०७१ मा सवारी हिँड्ने पुल बनिसकेपनि ट्र्याक खुलेको सडकमा स्तरोन्नति नहुँदा तीन नगरपालिकाका बासिन्दा तेब्बरभन्दा बढी सडक घुमेर सेवा लिन जान बाध्य बनेका हुन् । यो सडक सञ्चालनमा आए गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुरका सेवाग्राहीलाई साँखुमा रहेका कार्यालयमा जान सहज हुनेछ ।
साँखुमा इलाका प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, नेपाल बैँक लिमिटेड, कृषि विकास बैँक, नेपाल विद्युत् प्राधिकरणलगायत सरकारी कार्यालय छन् । यो सडक बनेमा छ किलोमिटर यात्रापछि साँखु पुग्न सकिने कागेश्वरी मनोहरा–२ का बासिन्दा कृष्णजी खड्का बताउछन । सडक स्तरोन्नति नहुँदा १९ किमी घुमाउरो यात्रा गरी सेवाग्राही साँखु पुग्छन् ।
“यो सडक बनेमा पर्यटकीयस्थल नगरकोट पुग्न पनि छोटो बाटो हुनेछ । पर्यटकीयस्थल सुन्दरीजल, कागेश्वरी, साँखु र नगरकोटलाई पनि जोड्छ, प्राचीनकालदेखि नै बूढानीलकण्ठदेखिका मानिस माघ महिनामा लाग्ने साली नदी मेला भर्न आउने मूलबाटो थियो । सडक अर्को स्थानबाट बनेपछि ओझेलमा परेको थियो ।
यहाँ पुल बनाएर सडक स्तरोन्नतिका लागि लागेकाे खड्काले बताए । शङ्खरापुरको खत्रीगाउँलगायत स्थानबाट वाग्मती किनारमा शव ल्याउन एवं स्थानीयवासीको आवतजावतका लागि पनि यो सडक प्राचीनकालदेखि उपयोग हुँदै आएको थियो । साँखु, कागेश्वरी र गोकर्णेश्वरका विभिन्न स्थानका मानिसबीच पारिवारिक सम्बन्धसमेत रहेकाले ओहोरदोहोर गर्न सोझो हुन्छ । १५ वर्षअघि नै ट्र्याक खुलेको यो सडक स्तरोन्नति नहुँदा गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुरका केही भागका मानिस सार्वजनिक यातायातमा १९ किमी घुमाउरो यात्रा गरी साँखु पुग्न बाध्य छन् ।
वर्षौँदेखि घुमाउरो यात्रा गर्न बाध्य स्थानीयवासीले दशैँ अघि नै मोटरसाइकल र साना सवारी सञ्चालन हुने गरी मर्मत शुरु गरेका राससले लेखेकाे छ । घट्टेखोला पुलको दायाँबायाँ बिग्रिएको सडक मर्मत गर्न स्थानीयवासी रामहरि खड्का, शैलेन्द्र कुइँकेल र विनोद खड्काले डोजर उपलब्ध गराएका थिए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



