किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय जबरा पक्राउ

-



     सफल आवाज    
     असाेज २७ गते २०७७ मा प्रकाशित



वीरगञ्ज , २७ असोज । किर्ते कागज बनाई अर्काको जग्गा बिक्री गर्ने ३३ वर्षीय केवलप्रताप जबरा पक्राउ परेका छन । पर्साको वीरगञ्ज महानगरपालिका ५ का कमलादेवी राजभण्डारीको नाममा रहेको घरसहितको पाँच कठ्ठा १५ धुर जग्गा किर्ते कागज बनाई उनले विक्री गरेको खुलासा भएको छ । उक्त जग्गाको मूल्य झण्डै रु ५० करोड रहेको जनाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोका अनुसार ति व्यक्तिले आफ्नो नागरिकता समेत नक्क्ली बनाई किर्ते कागजातका आधारमा अर्काको जग्गा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाईएको हो ।

सो किर्ते काममा ललितपुर महानगरपालिका १३ कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबरा रहेको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । थापाका अनुसार उनले मुकेश राजभण्डारी नामको नक्कली नागरिकता बनाएर किर्ते गरेको खुल्न आएको छ ।

खोजीका क्रममा उनलाई काठमाडौँको रातोपुलस्थित डेराबाट आइतबार पक्राउ गरिएको र साेमबार आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको व्यूरोका प्रमुख थापाले जानकारी दिएका छन। प्रहरीले यसअघि पनि उनलाई विभिन्न कसुरमा मुद्दा चलाएको बताएकाे छ ।

मालपोत कार्यालयका कर्मचारीको समेत मिलेमतोमा जग्गाधनी तथा निजको हकवाला समेतको हक मारी अर्काको जग्गा किर्ते कागजात बनाई गत फागुन १९ गते आफ्नो नाममा पास गरेका थिए । त्यसपछि उक्त जग्गा पर्सा कै गिरधारी लाल अग्रवाललाई बिक्री गरी रु ५० लाख बैना लिएको फेला परेको छ । त्यसपछि मात्र याे घटना बाहिर आएको राससले लेखेकाे छ ।

स्थानीय राजीव राजभण्डारीले लिखत र ठगी सम्बन्धी मुद्दामा जाहेरी दरखास्त दिएपछि व्यूरोले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका १३, कुसुन्तीका ३३ वर्षीय केवलप्रताप जबराले आफ्नो नाम मुकेशराज भण्डारी राखेर किर्ते गरेको पाइएको हो । उनले जिल्ला प्रशासन कार्यालय ललितपुरबाट किर्ते नागरिकता समेत बनाएको पाइएको छ ।