महानगरद्वारा सिङमा हरियो रङ भएका खसी,भेंडा,च्याङ्ग्रा मात्र खरीद गर्न आग्रह

-



     सफल आवाज    
     कार्तिक २ गते २०७७ मा प्रकाशित



काठमाडौं, २ कात्तिक । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौं ल्याइएका निरोगी खसी-बोका तथा भेंडा-च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको बताइएकाे छ ।

कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा ज्वरो आए-नआएको, नाकबाट सिगान बगे-नबगेको, झोक्राएको-नझोक्राएको, पातलो दिसा भए-नभएको, चोटपटक भए-नभएको जस्ता सामान्य स्वास्थ्यावस्थाका विषयमा पशु चिकित्सकले परीक्षण गरेपछि सिङमा रङ लगाउन थालेको छ ।

ती चौपायाको स्वास्थ्य जाँचका लागि महानगरबाट शनिबारदेखि महाष्टमीसम्म तीन टोली परिचालन भएका छन् । माछामासुजन्य खाद्यवस्तु तथा दूध र दुग्धजन्य खाद्यवस्तुको नमूना सङ्कलन गर्ने र प्रयोगशालामा परीक्षण गरेर यसको स्वच्छता कायम गराउने काम बजार निरीक्षणका क्रममा हेरिनेछ । चौपाया खरीदबिक्री प्रालिका अध्यक्ष जनककुमार खड्काका अनुसार काठमाडाैंमा ६० हजार खसीबोकाको माग भयो भने माग पूरा गराउन सकिन्छ ।

चौपाया ल्याउन सकिने अवस्था छ । ल्याएर बिक्री हुन्छ कि हुँदैन भन्न सकिने अवस्था छैन । काठमाडौंको ठूलो खसी बजार भनेको कलङ्की हो । बन्दाबन्दीपूर्व सो बजारमा कक्ष लिएर व्यापार गर्ने २९ व्यापारी थिए । कोरोनाका कारण तीमध्ये १६ व्यवसायीले व्यापार छाडे । कामपाका कलङ्की र टुकुचामा खसी बजार छ । यसै गरी बडादशैँका बेला काठमाडाैंकै आकाशेधारा, कपन, चाल्नाखेल र चन्द्रागिरि, भक्तपुरका लोकन्थली र सल्लाघारी तथा ललितपुरको लगनखेलमा पनि चौपाया बजार लाग्ने गरेको छ ।

स्वच्छ मासुका लागि काठमाडाैं भित्रिने नाका नागढुङ्गा, दक्षिणकाली, बालाजु र साँगामा चौपायामाथि निगरानी बढाउने गरिएकाे राससले लेखेकाे छ । काठमाडौं ल्याइने च्याङ्ग्राहरुको सङ्कलन मुस्ताङको कोरला नाकामा हुने भएकाले सो क्षेत्रमा पनि विशेष निगरानी बढाउने गरिन्छ । काठमाडौं चौपाया खरीदबिक्री प्रालिले यसपटक दशैंमा करीब ४० हजार चौपाया खपत हुने अनुमान गरेको छ ।