वाणिज्य विभागकाे बजार अनुगमनबाट ७८ लाख राजश्व सङ्कलन

-



     सफल आवाज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ कात्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट रु ७८ लाख राजश्व सङ्कलन गरेको जानकारी दिएकाे छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनमा कानून र मापदण्ड विपरित संचालित १३७ वटा पसललाई कारवाही गर्दा रु ७८ लाख ५७ हजार जरिवानास्वरूप उक्त राजश्व सङ्कलन भएको विभागले बताएकाे छ ।

एक महिनाको अवधिमा ८०१ फारामको अनुगमन गर्दा १३७ लाई जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । अनुगमनकाे बेलामा रू ९८ हजार ७८२ बराबरको खान अयोग्य र म्याद सकिएको खाद्य वस्तु नष्ट गरिएको उनले बताए । त्यसक्रममा १०४ फारामलाई स्पष्टीकरण पेश गर्न भनिएकाे र २२ फारामको कारोवार रोक्का र सिलबन्दी गरिएको छ । साथै ६ जना व्यक्ति तथा साधनलाई नियन्त्रणमा लिइएको छ ।

यसैगरी ४८४ फाराममा सामान्य कैफियत देखिएर तत्काल सुधार गर्न निर्देशन दिइएको छ । विभागको तथ्याङ्कअनुसार गैरकानूनी व्यापारिक क्रियाकलाप गर्नेमध्येमा सबैभन्दा धेरै फलफूल तथा तरकारी पसललाई जरिवाना गरिएको छ । ३३ वटा फलफूल तथा तरकारी पसलको अनुगमन गर्दा २२ पसललाई कारवाही गरिएको थियो । कारवाहीबाट रु १४ लाख ६२ हजार राजश्व सङ्कलन भएको छ । यसैगरी फूलफूल तथा तरकारीपछि सबैभन्दा धेरै कारवाही पानी उद्योगलाई गरिएको छ । ४५ पानी उद्योगको अनुगमन गर्दा १४ उद्योगलाई कारवाही गर्दा रु १४ लाख जरिवाना सङ्कलन भएको विभागले जनाएको छ ।

विभागका अनुसार अनलाइन पसलबाट रु पाँच लाख ८० हजार, औषधि पसलबाट रु पाँच लाख १५ हजार, खाद्य तथा किराना पसलबाट रु ९५ हजार, गार्मेन्टबाट रु ५० हजार राजश्व सङ्कलन भएको छ । यसैगरी ग्यास पसलबाट रु एक लाख, पाटीप्यालेसबाट रु तीन लाख, मार्टबाट रु पाँच लाख, मासु पसलबाट रु तीन लाख, रेष्टुरेन्टबाट रु दुई लाख राजश्व सङ्कलन भएको छ ।

विगत एक महिनाको अवधिमा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका ६० खालका फाराम तथा उद्योगको अनुगमन गरिएको जनाइएको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोवार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । विभागले चार्डपर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका तीन जिल्लामा छुट्टाछुट्टै अनुगमन टोलीमार्फत अनुगमनलाई निरन्तरता दिएको छ ।