बढ्न थाल्यो कर्जाको माग, असोजमा १ खर्ब २२ अर्ब लगानी

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक । कोरोना महामारी शुरु भएसँगै ठप्प बनेको बैंकहरुको कर्जा लगानी विस्तारै पुरानै लयमा फर्किने संकेत देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार पछिल्लो समय कर्जा लगानी बढ्दै गएको छ । संघले दिएको जानकारी अनुसार असोज महिनामा वाणिज्य बैंकहरूले १ खर्ब २२ अर्ब कर्जा प्रवाह र १३८ अर्ब निक्षेप संकलन गरेका छन् ।

बैंकहरूले यो कर्जा प्रवाह र निक्षेप संकलन असोज २ गतेदेखि ३० गतेसम्म गरेका हुन् । दशैं नजिकिएसँगै बैंकले कर्जा प्रवाहलाई तिब्रता दिएका कारण ऋण लगानी उच्च दरले बढेको हो । पहिलो त्रैमासको अन्तिम सातामा बैंकहरूले कर्जाको ब्याज तथा किस्तालाई पुँजीकरण गर्दा बैंकहरूको कर्जा विस्तार भएको हो ।

वाणिज्य बैंकहरूले असोजको अन्तिम सातामात्र ७१ अर्ब रुपैयाँले ऋण बढाएका छन् । असोजको २३ गतेसम्म २९ खर्ब ६४ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका बैंकहरूले ३० गतेसम्म यो बढेर ३० खर्ब ३५ अर्ब रुपैयाँमा पुगेको छ । असोज लागेपछि विस्तारै बढ्न थालेको बैंकको कर्जा प्रवाह अन्तिम साता अझ बढीले बढेको हो ।

यसैगरी, असोज ३० गतेसम्ममा वाणिज्य बैंकहरूले ३६ खर्ब ५४ अर्ब निक्षेप संकलन गरेका छन् । २७ वाणिज्य बैंकले असोज ३० गतेसम्म ३० खर्ब ३५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।