विश्व बैंक प्रतिनिधी र राष्ट्र बैंकका गभर्नरबीच छलफल

-



     सफल आवाज    
     कार्तिक ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ कात्तिक ।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक प्रतिनिधीसंग छलफल गरेका छन । कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा परेको असर एवम् त्यसको न्यूनीकरणका निम्ति अवलम्बन गरिएका नीतिगत व्यवस्थाका बारेमा अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक समूहलाई जानकारी गराएका हुन । केन्द्रीय बैंकले आज जारी गरेको विज्ञप्ति अनुसार गभर्नर अधिकारी आईएमएफ र विश्व बैंक समूहको संयुक्त वार्षिक बैठकमा श्रव्यदृश्य माध्यमबाट सहभागी भई नेपालमा भइरहेका सकारात्मक अभ्यासको बारेमा जानकारी गराएका थिए ।

गभर्नर अधिकारीले यही अक्टोबर १२ देखि १८ तारिखसम्म आयोजित वार्षिक वैठकमा सहभागिता जनाउँदै कोषले नेपालको विकास प्रक्रियामा गरेको आर्थिक तथा प्राविधिक सहयोगबाट पुगेको योगदानको बारेमा धन्यवाद दिएका थिए । उनले अन्तर्राष्ट्रिय वित्त निगम ( आईएफसी) को एसिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष अल्फोन्सो गारसिया मोरासँगसँग छलफल समेत गरेका छन । सो अवसरमा उपाध्यक्ष मोराले नेपालको वित्तीय क्षेत्रको संस्थागत पुनर्संरचना, वित्तीय क्षमताको अभिवृद्धि, जलविद्युत् क्षेत्रमा लगानी, स्वदेशी मुद्रामा बण्ड जारी गर्नेलगायतका विषयमा चासो प्रकट गरेकाे राससले लेखेकाे छ ।

केन्द्रीय बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा.गुणाकर भट्टले आईएमएफको मनिटरी एण्ड क्यापिटल मार्केट डिपार्टमेन्टसँग श्रव्यदृश्यका माध्यमबाट बैठकमा सहभागिता जनाएका थिए । विभिन्न बैठकका क्रममा द्विपक्षीय हित प्रवद्र्धन, आर्थिक तथा प्राविधिक सहयोगका क्षेत्रहरू, कोभिड–१९ का कारण नेपालको वित्तीय क्षेत्रमा परेका असर र त्यसको न्यूनीकरणका निम्ति लिइएका नीतिगत व्यवस्थाका विषयमा विस्तृत छलफल भएको राष्ट्र बैंकले जनाएको छ ।