
काठमाडौँ, ६ कात्तिक । एक दशकभन्दा पहिले जडान भएर पनि अझै पूर्णरूपमा सञ्चालनमा आउन नसकेको सवारी साधनको स्वस्थता परीक्षण गर्ने उपकरण पुनः सञ्चालनमा ल्याइने भएको छ । टेकुस्थित भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) ले चिनियाँ कम्पनीले निर्माण र जडान गरेको सो उपकरण मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी अघि बढाएको हो ।
उपकरणबाटै सवारी साधनको स्वस्थता परीक्षणका लागि सरकारले विसं २०६६÷६७ को बजेटमा गरेको व्यवस्थानुसार विसं २०६८ मा सवारी साधनको अवस्था परीक्षण गर्ने उपकरण खरिद गरेको थियो । सेन्टरमा हेभी र लाइट सवारी साधनका लागि छुट्टाछुट्टै लेन रहेको छ । कुनै पनि सवारी साधन लेनमा प्रवेश गरेपछि त्यसको कुन–कुन भागको अवस्था कस्तो छ भनी कम्प्युटरमा नै देखिन्छ । प्राविधिक बोलाएर उपकरणको मर्मत गरेर भेहिकल फिटनेस टेष्ट लेन प्रयोगमा ल्याउने तयारी गरिएको सेन्टरका प्रमुख मणिराम भुषालले बताए । उनका अनुसार उपकरण जडान भएर लामो समयम्म थन्किएकाले विभिन्न पार्ट र कम्प्युटरमा समस्या आएको छ ।
अहिले उपकरण मर्मतका लागि आवश्यक पर्ने रकमको आँकलन गरेर प्रक्रिया अघि बढाइएको उनले बताए । सोहीअनुसार अहिले मर्मतका लागि ठेक्का आह्वान गरिएको छ । उनले भने, “मेसिन चार÷पाँच महिनामा चलाउने गरी ठेक्का अघि बढेको छ ।” उपकरण निर्माण गर्ने कम्पनीलाई खरिद गर्ने ठेकेदार कम्पनीले पूरै रकम नदिएकाले हस्तान्तरण नै भएको थिएन । उनले भने, “फिनिसिङको काम र सफ्टवेयर नगरी निर्माण कम्पनीले छाडेको रहेछ ।” उपकरण प्रयोगमा नआएकाले अहिलेसम्म म्यानुअल (मान्छेले नै) यसको परीक्षण गर्दै आएको सेन्टरले जनाएको छ ।
मान्छेले हेरेर गरिने परीक्षण भरपर्दाे नहुने भएकाले वैज्ञानिकरूपमा परीक्षण गर्न उपकरण प्रयोगमा ल्याउन खोजिएको सेन्टरका प्रमुख भुषालले बताए । उनले भने, “उपकरणले गरिएको परीक्षण वैज्ञानिक हुने भएकाले विश्वासनीय हुन्छ ।” सवारी साधनको छ÷छ महिनामा जाँचपास हुने गरे पनि त्यो परीक्षण झारा टार्ने किसिमको मात्रै रहेको प्रमुख भुषालले बताए । आँखाले हेरेर जाँच गरिँदा सवारी साधनको वास्तविक अवस्था जानकारी नहुने उनको भनाइ छ । उपकरणबाट गर्दा त्यसको ब्रेक, हर्नलगायतका कुरा ठीक छ–छैन भनी छुट्याउन सकिन्छ । सो उपकरण सञ्चालनमा आएपछि हेभी र लाइट दुवै खालका सवारी साधन आ–आफ्नो लेनमा एउटाबाट छिरेर अर्काे दिशाबाट निस्कँदा कम्प्युटरमा नै कुन–कुन भागको अवस्था कस्तो छ भनी जानकारी दिनेछ ।
सवारी साधन पास भए उसले प्रमाणपत्र पाउने र फेल भएमा पुनः मर्मत गरेर ल्याएर अवस्था ठीक भएपछि मात्रै प्रमाणपत्र पाउने उनले बताए । उनले भने, “कुन–कुन भाग बिग्रिएको छ त्यो वर्कसपमा मर्मत गरेर आएमा अर्काे पटकमा पास हुनसक्छ ।” सो उपकरणबाट ब्रेक रोलर, सस्पेन्सन, साइट क्लिक, हर्न, लाइटलगायतका कुरा परीक्षण हुने बताए । अगाडि र पछाडिको पाङ्ग्रामा कति भार हुनुपर्ने, सवारीको क्षमतानुसार भार बोक्दा ब्रेकले काम गर्छ वा गर्दैन, प्राविधिक जाँच, सस्पेन्सन (पाङ्ग्राको साइड स्लिप), हर्नको अवस्था, हेडलाइटलगायत कुराको समेत यसमा परीक्षण हुनेछ ।
अहिले यिनै जिम्मेवारी पूरा गर्न विभागले देशभरका विभिन्न स्थानमा भिएफटिसीसमेत स्थापना गरिरहेको छ । अहिले अन्तरप्रदेश चल्ने सवारी साधनको परीक्षण, अनुमति र नवीकरण हामी गर्छाैँ भनी जिम्मेवारी लिइएको सेन्टरले जनाएको छ । भदौबाट रुट अनुमति दिन थालिए पनि फाट्टफुट्ट मात्रै सवारीधनी यहाँ आउन थालेका राससले जनाएकाे छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ मा सार्वजनिक सवारीको अद्यावधिक जाँचपास, प्रदूषण परीक्षण, सवारीमा गरिने फेरबदलसम्बन्धी स्वीकृतिलगायतका काम गर्न केन्द्र स्थापना गर्ने उल्लेख थियो । सोही व्यवस्थाका आधारमा केन्द्र स्थापना भएको हो ।






काठमाडाैं, १० मङ्सिर । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत दुई वित्तीय संस्था, एनएमबि बैंक…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका… 



